काठमाडौं, ४ मंसिर । ठमेलस्थित एक बारमा एक युवकसँग विवादपछि बदला लिन खोज्दा विनिता (स्नेहा) अस्पताल भर्ना हुनु पुगिन् । ‘जिद्धि’ स्वभावकी स्नेहा र देवको बारमा विवाद भएको थियो । जब, देव बारबाट बाहिरिएको थाहा पाउनेवित्तिकै बदला लिन स्नेहा र उनका साथीले फलो गरे । फलो गर्नेक्रममा स्नेहा स्कुटर दुर्घटनामा परिन् । दुर्घटनामा स्नेहाको दायाँ खुट्टा फ्याक्चर भयो । त्यसपछि उनलाई बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भइन् । उपचारमा संलग्न चिकित्सकले स्नेहालाई सान्तवना दिँदै भने, ‘नआतिनु, केही हुँदैन ।’ त्यतिखेरै देब हातमा फलफूल लिएर स्नेहालाई भेट्न आइपुगे, जसको कारण स्नेहाको त्यो हालत भएको थियो ।
हो, स्नेहाको दुर्घटनामा खुट्टा फ्याक्चर भयो । तर, यो वास्तविक नभएर चलचित्र ‘शिरफूल’ को एक दृश्यमा हो । थिएटर कलाकार विनिता मगर ‘शिरफूल’ मा स्नेहा नामकी मुडी अर्थात् जिद्धि युवतीको भूमिका गरिरहेकी छन् । चलचित्रको कथाअनुसार उनी आधुनिक युवती हुन्छिन् र साथीहरुसँग बार, ढिस्को जान रमाउँछिन् । र, बारमा उनी केटाहरुसँग फाइट गर्न पनि तयार हुन्छिन् । सोही दृश्यको छायांकनका शुक्रबार बसुन्धारास्थित चिरायु अस्पतालमा भइरहेको थियो । यस चलचित्रलाई थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका कमल एक्चैमगरले निर्देशन गर्दैछन् । यो कलमको पनि निर्देशनमा डेब्यु चलचित्र हो । उक्त दृश्यसँग चलचित्रको कथा मोडिने निर्देशक कमलले बताए । उनले भने, ‘यसअघिसम्म स्नेहा (विनिता) र देव (देव आलेमगर)बीच दुश्मनी हुन्छ । तर, यो दृश्यसँगै कथाले मोड लिन्छ र उनीहरुबीच प्रेम हुन्छ ।’ देवको पनि यो डेब्यु चलचित्र हो ।
कार्तिक २२ मा फ्लोरमा गएको यो चलचित्रको ६० प्रतिशत छायांकन सकिएको पनि निर्देशक कमलले बताए । ‘सुटिङ सुरु गरेको आज ९ दिन भयो’ शुक्रबार भेटमा उनले भने, ‘अब दुई दिनपछि हामी तनहुँ लाग्छौं ।’ उनले एउटा गीतको समेत छायांकन सकिएको बताउँदै भने, ‘अब प्रि क्लाइमेक्स र क्लाइमेक्स गाउँमै गदैछौं ।’
आधुनिकताको बढ्दो प्रभावसँगै युवापुस्तामा देखिएको संस्कृतिक विकृतिलाई चित्रण गर्ने भनिएको ‘शिरफूल’ लाई नारीप्रधान चलचित्र भनिएको छ । यस चलचित्रले प्रेम, कला र संस्कारलाई फेसनका रुपमा लिने चलन विकृतिपक्षलाई उजागर गर्ने जनाइएको छ ।
पर्फमिङ आर्ट क्रियशन र मगरर्स क्रियशन प्रालिको संयुक्त प्रस्तुतीमा यस चलचित्रलाई आर्शीवाद पुनले निर्माण गरेका हुन् । यस चलचित्रमा विनिता र देवका अलावा रुपा राना, राज थापा, पुजा गदल, नीता पुन, नमिता तामाङ, लिला गुरुङ, राजु योगिन, सुनिल मगरलगायतको मुख्य अभिनय रहने भएको छ ।
चलचित्रमा हरि लम्सालको संगीत, डिपी खानाल र सन्दीप थापाको गीत रहने छ । सिद्धान्त एस.पौडेलको निर्माण नियन्त्रणमा बन्ने ‘शिरफूल’लाई निरोज श्रेष्ठले खिच्दैछन् ।
तस्बिर : सुनिल राजभण्डारी
सुटिङ रिर्पोट