वीरबलको बयान ‘रोधी गाउँदा–गाउँदै गायक भएँ’
screennepal
प्रकाशित: २०७३, २० कार्तिक शनिबार
no img

काठमाडौं, २० कार्तिक । गायनमै करिब डेढ दशक पारगरिसकेका गायक हुन् वीरबल ढकाल । उनी गाउँछन् तर आफ्नै गाउँको सेरोफेरोलाई बढी समेट्ने गर्छन् ।

जन्मिएको गाउँघर, हुर्किएको माटोसँग जति आत्मीयता हुन्छ त्यो स्वर्गीय आनन्द अन्त कतै मिल्दैन भन्ने उनको सोचाइ छ । गोरखाको उत्तरी भेग मान्वुमा जन्मिएका गायक बीरबल ढकाललाई गाउँको रोधीले पनि गायक बनाएको हो ।
गाउँदेखि रोधी बस्दै आएका गायक बीरबललाई धेरै गीतहरुले चिनाएको छ । मनभरि गाउँको संस्कृति झल्किए पनि राजधानीको बसाइमा भएको उतारचढावले उनलाई व्यवसायिक गायक भने बनाउन सकेन । अरुको गीत गाउनुभन्दा पनि आफ्नैपनको गीत मात्रै उनले गाउँदै आएका छन् । जसले गर्दा उनको परिचय नै गाउँको माटोसँग नजिक छ ।

birbal-dhakal
जन्भमूमि, मायालाई सम्झेर, सात समुन्द्र पारी, तिम्रै घरको बाटो लगायत दर्जनौं गीतमा स्वर दिइसकेका गायक बीरबल ढकालको लय र स्वरमा रहेको गीत बासिसक्यो भाले यतिखेर चर्चाको शिखरमा छ । रमेश बिजीको शब्दमा तयार भएको यो गीतमा देवी घर्तीले स्वरमा साथ दिएकी छन् । यस गीतको थेगो भने केशर बहादुर अधिकारीको रहेको छ ।

रेडियो, टेलिभिजन र सामाजिक सञ्जालहरुमा चर्चाको शिखरमा रहेको यो गीतले गाउँको परिवेश झल्काएको छ । मायाप्रेममा परेका जोडीका लागि यो गीतले कौतुहलता पस्केको छ । भाले बासेपछि उज्यालोको संकेत देखिन्छ तर रातभरि मायाकै झल्कोमा हराएको एउटा प्रेमीलाई अझै त्यो रातको महत्व यो गीतले गराएको छ ।

मायाको सम्झनामा पागल हुनेहरुले यो गीतलाई एकचोटी सुन्दा पुनः सम्झनाले तर्साउने देखिन्छ । बासिसक्यो भालेको म्यूजिक भिडियो पनि तयार भएको छ । हरि र अनिताको अभिनय रहेको यस गीतको म्यूजिक भिडियोलाई भने दुर्गा पौडेलले निर्देशन र छायाँकन गरेका छन् । प्रविन रेश्मीमगरले सम्पादन गरेको यो म्यूजिक भिडियोलाई रसुवाको रमणीय दृश्यभित्र कैद गरिएको छ । यस गीतलाई शितल म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

Comments