Happy Birthday : ५१ वर्षमा लागे शाहरुख !
screennepal
प्रकाशित: २०७३, १७ कार्तिक बुधबार
no img

मुम्बई, १७ कार्तिक (एजेन्सी) । बलिउड अभिनेता शाहरुख खान आज (बुधबार) ५१ वर्षमा लाग्दैछन् । शाहरुखलाई अहिले संसारभरका आफ्ना फ्यानले फेसबुक, ट्विटरलगायतका सोसल मिडियामार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् ।  शाहरुखले आफ्ना नजिकका साथीहरुसँग हालै खरिद गरेको अलीबागको आफ्नो अलीशान घरमा जन्मदिन मनाउँदैछन् ।

shah-rukh-khan1
बलिउड बादशाहका रुपमा स्थापित यी अभिनेता फिल्मी परिवारभन्दा बाहिरबाट आएका हुन् । तर, शाहरुखले भारतीय सिनेमामा जमाएको धाकलाई सबैले मान्ने गरेका छन् । उनका विश्वभरि करोडौं प्रशंसक तथा फ्यान छन् । भारतको दिल्लीमा जन्मिएका शाहरुखका बुवा मीरताज मोहम्मद खान र आमा लतिफ फातिमाको प्रेम विवाह भएको थियो ।
मीरताज भारतको स्वतन्त्रता संग्राममा भाग लिएका व्यक्ति हुन् । उनी पेशाले इन्जियनियर । जतिबेला शाहरुख कलेजमा पढ्दै थिए, त्यतिबेला उनको बुवाको निधन क्यान्सरबाट भएको थियो ।
शाहरुखका बुबा मीर र आमा फातिमाको भेट पनि रोचक ढंगले भएको थियो । शाहरुखका बुवाको उनकी आमासँग भेट त्यतिबेला भएको थियो, जब एउटा सडक दुघर्टनामा फतिमा घाइते भएकी थिइन् । शाहरुखका बुवाले रगत दिएर उनको आमालाई बचाएका थिए । सन् १९९० मा शाहरुखकी आमा फातिमाको पनि निधन भएको थियो । उनी सोसल वर्कर र मजिस्ट्रेट थिइन् ।
शाहरुखले सेन्ट कोलम्बस स्कुल, हंसराज कलेज, नेशनल स्कुल अफ ड्रामाबाट अध्ययन पूरा गरेका थिए । शाहरुखको उनको श्रीमती गौरीसँग पहिलो भेट एउटा पार्टीमा भएको थियो । पहिलो भेटमै शाहरुखले गौरीलाई मन पराएका थिए तर, गौरीले मन पराएकी थिइनन् ।
सुरुवातका दिन गौरीलाई शाहरुखले अभिनयलाई आफ्नो करिअर बनाएको मन परेको थिएन् । मुम्बई आएपछि शाहरुखले गौरीसँग विवाहको लागि प्रस्ताव राखेका थिए ।
शाहरुखका ठूला छोरा आर्यन १७ वर्षको भए । उनी लन्डनको सेवनओक्स स्कुलमा पढ्ने गर्छन् । शाहरुखकी छोरी सुहाना १४ वर्षकी छिन् र उनी पनि दाजुसँगै लन्डनमा पढ्ने गर्छिन् । दुई बच्चा जन्मिएपछि शाहरुख र गौरीले तेस्रो बच्चाको पनि चाहना राखेका थिए। त्यो पुरा गर्न उनीहरूले सरोगेसीको सहारा लिए । यो जोडीको तेस्रो बच्चा अबराम सेरोगेसीबाट जन्मिएको हो । जो जन्मिनुअघि नै चर्चामा थियो ।

Comments