दुई मिनेटको ट्रेलरले बोल्छ ‘गोरखा वारियर’को कथा (यस्तो छ ट्रेलर)
screennepal
प्रकाशित: २०८०, ११ माघ बिहीबार
no img

काठमाडौं । नेपाली चलचित्र ‘गोर्खा वारियर’ आउँदो ११ फागुनबाट नेपालमा रिलिज हुने भएको छ । यसै क्रममा यो चलचित्रको नेपाली संस्करणको ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ । मिलन चाम्सद्धारा निर्देशन गरिएको यो चलचित्रको ट्रेलरलाई हल रिलिजसँगै ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । यसअघि फस्ट लुक्स र टिजर सार्वजनिक गरेपछि चलचित्र गोर्खा वारियरप्रति दर्शकको चासो निकै बढेको थियो ।

२ मिनट २२ सेकेन्डको यो ट्रेलरमा गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नुपरेका विभिन्न संघर्ष र पीडालाई प्रस्तुत गरिएको छ । सन १९४९ का बेला दोश्रो विश्वयुद्धको क्रममा गोर्खाली सेनाले लडेको मलाया युद्धको कथामा यो चलचित्र केन्द्रित रहेको छ । त्यो समय मलाया युद्ध कति कठिन थियो र सो युद्धमा गोर्खा सैनिकले कति संघर्ष गर्नुपर्यो भन्ने कुरा ट्रेलरमा देखाइएको छ ।

अरु चलचित्रको ट्रेलरमा सिनेमाको कथा लुकाइएपनि गोर्खा वारियरको ट्रेलरमा यो चलचित्रको सक्षिप्त कथा खुलाइएको छ । थोरै भएपनि मलाया युद्धबारे दर्शकलाई जानकारी होस् भनेर ट्रेलरमा यसको केही कथा खुलाईएको निर्देशक चाम्सले सो कार्यक्रममा प्रकाश पारे । तथापि, सिनेमा भित्र के छ भन्ने कुरा गोर्खा वारियर नहेरी थाहा नहुने उनले बताए ।

निर्देशक चाम्सले भने, ‘बीर गोर्खाली सैनिकले पहिलो र दोश्रो विश्वयुद्धमा गरेको युद्धको नभनिएका धेरै कथाहरु छन् । बीरताका ती कथा बिस्तारै हराउँदै जाने हुनाले हामीले १९४९ को मलाया युद्धको कथालाई यो चलचित्रमा प्रस्तुत गरेका हौं ।’
यो चलचित्रबाट डेब्यु गरेका अभिनेता रितेश चाम्सले करिब आठ वर्षको तयारीपश्चात आज अभिनेताको रुपमा यो सिनेमामा आफु आएको बताए ।

यो चलचित्रको ट्रेलर अनुसार ३१ अगष्ट सन १९५७ मा उपनिवेशबाट मुक्त भएको मलाया (हालको मलेशिया) त्यसअघि बेलायतको अधिनमा थियो । आफ्नो स्वतन्त्रताको लागि मलायाका बिद्रोही समुहले १९४० को सुरुवात देखिनै बेलायती शासक बिरुद्ध गुरिल्ला युद्ध गर्दै आएका थिए ।

सुरुको चरणमा बेलायती सैनिकलाई समेत ति बिद्रोहीले बन्दी बनाएपछि त्यहाँ बेलायतले पुनः पठाएको गोर्खा सैनिकले मलायाको जंगलमा सन १९४९ मा गरेको भिषण युद्धको झलक ट्रेलरमा समेटिएको छ ।

युद्धका क्रममा गोर्खाली सैनिकको परिवार प्रतिको बिछोड र सम्झनाका कारुणिक दृष्य पनि ट्रेलरमा हेर्न पाइन्छ । गोर्खा वारियरको ट्रेलर हेर्दा निकै महँगो बजेटमा बनेको हलिउडको वार जनराको फिल्मको ट्रेलर हेरिरहेको महसुस दर्शकलाई हुने गर्दछ ।

यो चलचित्र नेपाली, हिन्दी, अंग्रेजी र कोरियन गरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भइसकेको छ भने हिन्दी, कोरियन र अंग्रेजी सस्करणको निर्माण पनि अन्तिम चरणमा रहेको निर्माण पक्षले जनाएको छ ।
यो चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

Comments