राष्ट्रियभावना जागृत ‘मेचीदेखि कालीसम्म’ (अडियोसहित)
screennepal
प्रकाशित: २०७७, २३ असार मंगलवार
no img

काठमाडौं– सुगम संगीतका लागि चर्चित गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईद्वारा संगीतवद्ध राष्ट्रियभावना जागृत गीत सार्वजनिक भएको छ । कोरोना महामारीको संकटमा देश दुखिरहेका बेला भुवनले पूर्व मेचीदेखि पश्चिम कालीसम्म हिमाल, पहाड र तराईलाई एकताको सुत्रमा बाँध्ने ‘मेचीदेखि कालीसम्म’ बोलको गीत ल्याएका हुन् ।
युटुबबाट सार्बजनिक गरिएको यस गीतमा शब्द रामकुमार तामाङको रहेको छ । चर्चित गायिका अञ्जु पन्त र सन्जिव धिमालको स्वर रहेको यस राष्ट्रियभावको गीतलाई गायक भुवनले संगीत दिएका हुन् । संगीत र गायनलाई एकसाथ अँगाल्दै आएका भुवनले पछिल्लो केही वर्षयता समय सान्दर्भिक गीत सिर्जनामा गर्दै आएका छन् ।
केही समयअघि मात्र भुवनद्वारा संगीतवद्ध पर्यटनसम्बन्धी गीत सार्वजनिक भएको थियो । जुन बेला नेपाल सरकारले सन् २०२० लाई ‘पर्यटन वर्ष’ घोषणा गरेको थियो । तर, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण तत्काललाई पर्यटन वर्ष स्थगन भएको छ ।
कोरोनाका कारण देश र जनता आक्रान्त भएको वर्तमान अवस्थामा ‘मेचीदेखि कालीसम्म’ बोलको यो राष्ट्रिय गीतले नेपालीलाई एकतावद्ध भएर अगाडि बढ्ने उत्प्रेरणा दिने विश्वास भुवनको छ ।
केही वर्षयता अमेरिकामा रहँदै आएका गायक तथा संगीतकार भुवनले भने, ‘देशबाहिर भएपछि अझै धेरै देश र माटोको माया लाग्दोरहेछ ।’ हुन पनि जब उनी अमेरिका पुगे, तब उनका राष्ट्रिय भावनाका गीतहरु धमाधम आइरहेका छन् । संगीतप्रति लगाव अनि देशप्रतिको मायाले गर्दा आफ्नो ब्यस्त समयका बाबजुद पनि गीति सिर्जना गर्दै आएको उनको भनाइ छ ।
हुन पनि गीतसंगीत भावना हो, जहाँ मायाप्रेम मात्र हुँदैन, देशप्रति प्रेम र सुख, दुःख गीतले समेटेको हुन्छ । गायक भुवनको यो पछिल्लो सार्वजनिक राष्ट्रिय भावनाको गीत यसैको उदाहरण हो ।


०००

Comments