संगीतकार ज्योतिप्रकाशले आफ्नै स्वरमा ‘निष्ठुरी’ बोलको गीत ल्याएका छन् । पछिल्लो समय गीतहरु कमसल खालका बन्दै गइरहेको र स्टेज केन्द्रित वा सामाजिक सञ्जालमा चर्चा बटुल्न मात्रका लागि रेकर्ड गर्ने चलन बढिरहेका बेला ज्योतिप्रकाशले गुणात्मकतालाई ध्यान ‘निष्ठूरी’ ल्याएका छन् ।
ज्योतिप्रकाश आफैँमा राम्रा गायक हुन् । उनी त्रिभुवन विश्वविद्यालय कला विभागका प्राध्यापक समेत हुन् । २०५३ सालदेखि गीतसंगीतको क्षेत्रमा होमिएका ज्योतिप्रकाश ‘ब्राइटर तिम्रो गीत मेरो सूर’जस्तो रियालिटी शोमार्फत आफूलाई गायनमा उतारेका थिए ।
स्रोताको रोजाइ फरक हुनसक्छ, फरकफरक फ्लेबरका गीतसंगीत सुन्ने स्रोताको इच्छा हुन्छ । तर, यो निष्ठुरी गीतले भने सबैको मन जित्न सक्ने उनको भनाइ छ । चन्द्र भट्टचनको शब्द रहेको गीतमा ज्योतिप्रकाशकै संगीत रहेको छ भने सुदिप सागरको संगीत संयोजन छ ।
पछिल्लो समय लाइभ ब्याण्डसहितको थियटर भिडियो निर्माणको क्रम न्यून भएपनि चित्रकलासँगै जोडेर कला स्टुडियोमा कलाकारहरुको लाइभ बाध्यवादनसहित भिडियोको निर्माण भएको छ । भिडियोमा रहेका वाद्यवादक नै वास्तविक गीतमा बाजा भर्ने वाद्यवादक हुन् । भिडियोलाई नवीनबाबु गुरुङले छायाँकन गरेका छन् भने गरव योञ्जनको सम्पादन रहेको छ । सुमन पण्डितको निर्देशन रहेको भिडियोलाई विजय महर्जनको कला स्टुडियोमा छायाँकन गरिएको हो ।