‘नीरफूल’ ३० फागुनमा फूल्दै
screennepal
प्रकाशित: २०७६, ३० मंसिर सोमबार
no img

फिल्म ‘नीरफूल’ले नयाँ रिलिज डेट तय गरेको छ । आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने बताइएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाईको कारण फागुनमा सरेको हो ।
भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायाँकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् ।
फिल्ममा अभिनेत्री रेखा विशेष भुमिकामा छिन् भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यु फिल्म हो । दयाहाङको जोडीको रुपमा देखिन लागेकी वाइबा सेलो थिएटरकी संस्थापक हुन् । मेलिना राईको ‘तिमीले बाटो फेर्यौ अरे…’ गीतको किड भर्सन कभर सङ गाएर युट्युबमा चर्चा कमाएकी बाल गायिका जिग्मे छ्योइकी घिसिङ दयाहाङको छोरीको रुपमा फिल्म छिन् ।

फिल्मको पटकथा निर्देशक वल स्वयं र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा बोनसको रुपमा हुने उनको दावी छ ।

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

Comments