कलाकारद्वारा रविको रिहाईको माग
screennepal
प्रकाशित: २०७६, ७ भाद्र शनिबार
no img

काठमाडौँ । कलाकारहरुले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानको रिहाईको माग पत्रकार सम्मेलन गरेका छन् । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले लामिछाने पक्राउ प्रकरणमा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने भन्दै यथाशिघ्र रिहाईको माग गरे ।
कार्यक्रममा बोल्दै हाँस्यकलाकार तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने आइतबार रिहाई हुनुपर्ने बताए । ‘अब रविजीको बारेमा बोल्दा मैले मेरो मुहारपुस्तिकामा पनि लेखेको थिएँ’ उनले भने, ‘पछिल्लो कारण आयो, त्यसमा बोल्न चाहन्छु । त्यस्तै पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ । उहाँको यथाशिघ्र रिहाई हुनुपर्छ ।’
त्यस्तै कार्यक्रममा अभिनेता निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने बताउँदै भने, ‘पछिल्लो समय मानवता खत्तम भएको छ र सत्य भन्ने चीज हराएको छ ।’ उनले सत्यको पक्षमा लड्नुपर्ने पनि बताए । उनले भने, ‘रविजी त पपुलर हुनुहुन्थ्यो । आफ्नो आवाज प्रष्ट भनिरहेका छन् । कानूनको व्याख्या नै गलत छन् भने कानूनले कसरी काम गर्छ ? नेपाली झण्डाको मुनि बसेर काम गरौं । रविजीलाई मात्रै होईन, यहाँ स्वतन्त्र रुपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ । क्राईम गरेको व्यक्तिलाई डर हुन्छ । हामीले लड्नुपर्ने यसको विरोधमा हो । हामी रविजीको पक्षमा एकजुट हौँ ।’
कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गर्दै भने, ‘म रविजीको साथी हो । छिटोभन्दा छिटो छानबिन होस् । निश्पक्ष होस् ।’ उनले रवि लामिछाने स–सम्मान छुट्नुहोस भनेर प्रार्थना गर्न आग्रह गरे । उनले भने, ‘उहाँ पनि कानूनभन्दा माथि हुनुहुन्न ।’ यद्धपी रवि लामिछानेमाथि छानबिन गर्न सकिनेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाए । कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाई हुने विश्वास दिलाए ।

राजधानीमा प्रदर्शन
यसैबीच लामिछानेको रिहाइको माग गर्दै शबिनार राजधानीको माइतीघरमा प्रदर्शन गरिएको छ । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको कुनै संलग्नता नभएपनि फसाउन खोजिएको दाबी गरेका थिए । गत २० साउनमा पत्रकार शाकिराम पुडासैनी चितवनको एक होटलमा मृत अवस्थामा फेला परेपछि सार्वजनिक भएको भिडियोका आधारमा लामिछानेसहित अस्मिता कार्की र पत्रकार युवराज कँडेल पक्राउ परेका थिए । उनीहरु पक्राउ परेसँगै रवि समर्थकले निरन्तर रिहाइको लागि दवाव दिँदै आन्दोलन गर्दै आएका छन् ।

Comments