२७ सयलाई उछिन्दै ‘प्रेम गीत–३’मा हिरोइन बनिन् क्रिष्टिना
screennepal
प्रकाशित: २०७६, १५ असार आईतवार
no img

चलचित्र ‘प्रेम गीत–३’मा कलाकार चयन सकिएको निर्माणपक्षले जनाएको छ । व्यवसायिक रुपमा सफल सिरिज ‘प्रेम गीत–३’का लागि आइतबार नयाँ नायिका चयन गरिएको छ । अब यो फिल्ममा केही वर्ष यताबाट अमेरिकामा बस्दै आएकी क्रिस्टिना गुरुङ नायिकाको रुपमा देखिने भएकी छन् ।
चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार अभिनेत्री चयनको तीन महिना लामो प्रक्रियापछि क्रिस्टिना चयन भएकी हुन् । चलचित्रको नायिकाका लागि आह्वान गरिएको अडिसनमा देश–बिदेशबाट २७ सय १४ जनाले तस्बिर पठाएका थिए । जसबाट उत्कृष्ट २५ जनाबाट अडिसिन लिएर उत्कृष्ट ५ चयन गरिएको र त्यो उत्कृष्ट ५ बाट क्रिस्टिनालाई नायिकामा चयन गरिएको निर्माता निर्देशक सेनले बताएका छन् ।
अहिले छायाँकन अघि नै दर्शकको पर्खाइ बनेको यो चलचित्रका निर्माता सन्तोष सेनले नायिका चयनबारे भने, ‘हामीहरुका लागि सबै उत्कृष्ट हुनुहुन्थ्यो, तर पनि एकजना उत्कृष्ट चयन गर्नुपर्ने भएकाले क्रिस्टनालाई गीत पात्रका लागि छानेका हौँ ।’
आशुसेन फिल्म्सका निर्देशकद्धय छेतेन गुरुङ र सन्तोष सेनले उनको नाम सार्वजनिक गर्दा उनी साह्रै खुसी देखिइन् । अभिनेता प्रदीप खड्कासँग जोडी बनेर काम गर्न पाउँदा आफुलाई भाग्यमानी महसुस गरेकी बताइन् । अमेरीकाबाट अडिसनमा सहभागी हुनकै लागि नेपाल आएकी क्रिष्टिनाले २७ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै चलचित्रमा काम गर्ने अवसर पाएकी हुन् ।
क्रिस्टिना काठमाडौंकी युवती हुन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । ‘प्रेम गीत–३’मा अब अभिनेता प्रदीप खड्कासँगै कृष्टिना गुरुङ, अभिनेता शिव श्रेष्ठ, खल अभिनेता सुनील थापा, नवअभिनेता मनिष राउत, अनुभव रेग्मी, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरीसहित मुख्य भूमिका रहने भएको छ । चलचित्रको छायाँकन आउँदो दशैंपछिबाट सुरु हुने बताइएको छ ।

Comments