नाचघरमा सेक्सोफोनको धुनसँगै शुभबहादुर गुञ्जिए
screennepal
प्रकाशित: २०७६, ३ असार मंगलवार
no img

बरिष्ट संगीतकार एवं शुभबहादुर सुनामले सोमबार बेलुका काठमाडौंमा स्याक्सोफोनमार्फत दर्शकलाई डेढघन्टा मन्त्रमुग्ध तुल्याए ।
स्याक्सोफोन बादन सम्बन्धि आफ्नो एकल साँगीतिक साँझ ‘स्याक्समाडौं’मा प्रस्तुत भएका सुनामले दर्जनभन्दा बढी गीतका धुनहरु स्याक्सोफोनामार्फत प्रस्तुत गरे ।
कार्यक्रमको शुभारम्भमै स्वागत धुनअन्तर्गत शुभबहादुरले विभिन्न धुनहरु प्रस्तुत गरेर दर्शकको ताली र वाहवाही पाए ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यदेखि अग्रज गायक प्रेमध्वज प्रधान, गीतकार यादब खरेलदेखि संगीत क्षेत्रका अधिकाँस कलाकारहरु सुनामको स्याक्सोफोन धुनमा रमेका थिए ।
प्रस्तुतिको पहिलो चरणमा संगीतकार सुनामले नेपाली र अँग्रेजी गरेर आठ ओटा गीतको धुन स्याक्सोफोना मार्फत प्रस्तुत गरे । उनले मलाई नसोध कहाँ दुख्छ घाउ…, राजमति वामति…, मायाँ रे…, आँखा छोपी नरोउ भनी…, हुँ यात्री एउटा…, उकाली ओरालीहरुमा…जस्ता गीतलाई स्याक्सोफोनको धुनमा प्रस्तुत गरे । उनलाई सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का बाद्यबादकहरुले बाद्यबादनमा निरन्तर साथ दिए । पहिलो चरणमै संगीतकार सुनामले टाईटानिक फिल्मको माई हार्ट विल गो अन…, गोईङ होम…जस्ता गीतलाई पनि स्याक्सोफोनमार्फत प्रस्तुत गरे ।
संगीतकार सुनामले प्रस्तुत गरेको पिँक प्यान्थर…, समर टाईम…जस्ता धुनहरु पनि त्यत्तिकै आकर्षक थिए । उनले गोरेटो यो गाउँको…लाई स्याक्सोफोनमा प्रस्तुत गर्दा यो गीतका गायक प्रेमध्वज प्रधानले निरन्तर तालीले साथ दिए । यस्तै बाबा र जाउ…, रेलिमाई…जस्ता गीतलाई पनि सुनामले स्याक्सोफोनमा प्रस्तुत गरे ।
बिगत ५२ वर्षदेखि स्याक्सोफोन बजाउँदै आएका सुनामले सात सय भन्दा बढी गीतमा संगीत गरिसकेका छन् । नेपालका अधिकाँस गीतमा स्याक्सोफोन बजाउने कलाकार पनि उनी नै हुन् ।
उनलाई यो एकल कार्यक्रममा स्याक्सोफोनमा अरुले पनि साथ दिए । अमुल कार्की ढलीको टिमले सङबर्ड, स्टिल अन माई माईन्ड र डिस प्यासिटियो जस्ता धुन स्याक्सोफोनमा प्रस्तुत ग¥यो ।
शुभबहादुरकै संगीत र स्याक्सोफोन धुनमा उनका नाती रोमिल सेनामले दुई ओटा गीत लभ विल…र स्ट्यान्ड बाई मी…प्रत्यक्ष गाए । यस्तै गायका सृष्टी केसीले पनि स्याक्सोफोनको धुनमा अँग्रेजी गीत बोनिता…गाईन् ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बाद्यबादन कलाको प्रवर्धन गर्न सांस्कृतिक संस्थान र शुभबहादुरसँगको सँयुक्त आयोजनामा स्याक्सामाण्डौ आयोजना गरिएको बताए । संस्थानलाई व्यबसायिक रुपमा अघि बढाउन यो कार्यक्रम टिकट बिक्री गरेर आयोजना गरिएको पनि महाप्रबन्धक थापाले कार्यक्रममा प्रकाश पारे ।

Comments