ढाका पहिरन र फुलेन्देकी आमाको रेजीमा मिस शृंखला ! (फिचर)
screennepal
प्रकाशित: २०७५, १० पुष मंगलवार
no img

0 एमपी सुब्बा

ढाकाको कलेजी रंगको गाउनमाथि गलामा रेजी (पैसा)को मालाले चिटिक्क देखिएकी शृंखला खतिवडालाई तारिफ नगर्ने त्यहाँ कोही थिएनन् ।
हँसिलो मुहार, सुन्दर व्यक्तित्व र खुलस्त हृदयकी शृंखला अर्थात ‘मिस नेपाल–२०१८’की विजेतालाई सोमबार साँझ भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा यस्तै पहिरनमा भेटिइन् । जहाँ उनको सुन्दरता र व्यक्तित्यको तारिफ गर्नेको भीड थियो ।


यस वर्षको ‘मिस नेपाल’ उपाधि जितेपछि ‘मिस वल्र्ड–२०१८’मा सहभागी हुने अवसर पाएसँगै चर्चामा आएकी मिस शृंखलाको तारिफमा चर्चित हाँस्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलामात्र नभएर केमेडी शो ‘मुन्द्रेको कमेडी क्लव’को पुरै टिम ओइरिएका थिए ।
उक्त कमेडी शोका टिम तथा कलाकारहरुको आफ्नो तारिफ सुनेर शंखला मख्ख नपर्ने कुरै भएन । दंग पर्दै मिस शृंखलाले भनिन्, ‘आहा, कति रहमाइलो कार्यक्रम । यो शो नै रमाइलो गर्ने कार्यक्रम भएकाले होला, मलाई एकदमै रमाइलो लाग्यो ।’


यो अवसर जुराएको थियो, नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका कमेडी शो ‘मुन्द्रेको कमेडी क्लव’ले । र, मिस नेपाल शृंखलालगायत अन्य कलाकारका लागि पहिरन अर्थात ड्रेसको प्रबन्ध द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिकले गरेको थियो । ड्रेसको प्रबन्धमात्र नभएर कसरी लगाउने, के कसो गर्दा सुहाउँछ भनेर कलाकारलाई सिकाउन द हाइल्याण्ड आर्टकी प्रोपाइटर तथा फेसन डिजाइनर समेत रहेकी कल्पना योङहाङ लिम्बू आफै सुटिङ स्थलमा खटेकी थिइन् ।


हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’को यो पछिल्लो चर्चित शोको आगामी इपिसोडका लागि सोमबार छायाँकन गरिएको हो । अब आउँदो इपिसोडमा मिस नेपाल शृंखला खतिवडामात्र नभएर ‘मुन्द्रेको कमेडी क्लव’का सम्पूर्ण टिम तथा अतिथिहरु ‘द हाइल्याण्ड आर्ट’कै ढाका पहिरनमा देखिँदैछन् । कल्पना योङहाङले तयार गरेको ढाका पहिरनमा सबै कलाकार धपक्कै खुलेका थिए (मुन्द्रेका आगामी कार्यक्रम हेर्नुहोला) ।


मिस नेपाल शृंखला, हाँस्य अभिनेत्री दीपाश्री, पछिल्लो समय चर्चामा रहेका हाँस्य कलाकार ‘फुलेन्देको आमा’ उमेश राईलगायतका कलाकारहरु मुन्द्रेको कमेडी क्लवमा सहभागी भए । उनीहरुका लागि द हाइल्याण्ड आर्टकी कल्पनाले विभिन्न डिजाइनका ढाका पहिरन तयार गरेकी थिइन् ।
द हाइल्याण्डको ढाका पहिरनले दीपा, शृंखला र फुलेन्देकी आमालाई सबैभन्दा बढी सुहाएको देखियो । अझ ढाकाको कलेजी रंगको गाउनमाथि लगाएको रेजीको मालाले मिस शृंखला धपक्क बलेकी थिइन् । शृंखलालाई उक्त रेजीको माला फुलेन्देकी आमाले पहिराइदिएका हुन् । शृंखलाको घाँटी खाली देखेपछि आफूले लगाएको उक्त माला दिएकी हुन् ।
कार्यक्रममा बोल्दै दीपाश्रीले भनिन्, ‘शृंखला खतिवडा अहिलेसम्मकै मिस नेपालमा सुन्दर र ट्यालेन्ट लाग्यो ।’ उनले शृंखलाले बिच बिचमा अंग्रेजी भााषा नमिसाइ बोल्ने शैली मन परेको बताइन् ।

Comments