लिम्बू भाषामा लघु फिल्म ‘निङ्वासुम’ निर्माण गरिएको छ । गीतकार तथा गायिका रीता फोम्बो ठूलीको कथामा निर्माण गरिएको उक्त फिल्ममा तेह्रथुमको आठराई, जलजलेदेखि बेलायतसम्मको दृश्य समेटिएको छ । फिल्मकी कथाकार तेह्रथुमकी हुन् भने हाल उनीे बेलायतमा बस्दै आएकी छन् ।
सुर्य खापुङ लिम्बूको निर्माण रहेको फिल्ममा लिम्बू समुदायको सांस्कृतिक विरासतसँग जोडिएका पूर्वका ऐतिहासिक स्थलहरू तेह्रथुमको पोक्लाबाङ, सिम्ले, जलजले तोक्मा, आठराई संक्रान्ति बजार, म्याङलुङ, बसन्तपुर, लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्क र तीनजुरे मिल्के जलजलेलगायतका दृश्य समेटिएको छ । फिल्मका केही दृश्य इलामको कन्याम र बेलायतलाई समेटिएको छ ।
१५ मिनेटको लघु फिल्म ‘निङ्वासुम’लाई लोकेन साँवा लिम्बूले निर्देशन गरेका हुन् । उनका अनुसार लघु फिल्ममा पूर्वेली लिम्बू समुदायको जीवनशैलीसँग जोडिएको सांस्कृतिक संस्कारलाई चित्रण गरिएको छ । निर्देशक साँवाले भने, ‘आधुनिकताले ख्याली र पालामलाई निले पनि पहाडका कुनाकाप्चामा अझै जीवित छ । ख्याली र पालाम लिम्बूले जन्मँदै लिएर आएको हुन्छ । फिल्ममा त्यही विषयलाई उठाइएको छ ।’
कथा र पालाम रीता र भक्ति आङ्देम्बेको स्वर सुन्न सकिन्छ । पुष्पा तिलिङ मादेन लिम्बू र दीप केरुङ लिम्बूको मुख्य भूमिका रहेको फिल्ममा गीता फोम्बो (माइली), ओझाहाङ चेम्जोङ, युनिशा निङलेकु, निशा माङ्युङ, भावना निङ्लेकु, विमला सिङगक, आँसु सिंगक, उषा सिंगक, अभिषेक लिम्बू, विवेक लिम्बू, रोशन लिम्बू, सुदेश तुम्बाहाङफे, लीलाप्रसाद पयाङगु, रामरोति लिम्बूको पनि अभिनय छ । यस फिल्मलाई मंसिरमा सार्वजानिक गरिने निर्माणपक्षले जनाएको छ ।