विम्ब र प्रतिकहरु खोजी गर्दै नगरकोटमा जेसुम यात्रा
screennepal
प्रकाशित: २०७५, १४ आश्विन आईतवार
no img

जेसुम अर्थात सौन्दर्य । तामाङ भाषाको यही शब्दलाई सापटी लिएर केही कवि, चित्रकार र रंगकर्मीले एउटा स्वतन्त्र अभियान थालेका छन् । स्थानिय संस्कृति, पात्र, विषयबस्तु, परिवेशसँगै विम्ब र प्रतीकहरु खोजी गर्दै कला, साहित्य र रंगमञ्चमार्फत समाजमा सकारात्मक उत्प्रेरणा फैलाउने उद्देश्य बोकेर अघिल्लो महिनाबाट शुरु भएको ‘जेसुम यात्रा’को दोस्रो श्रृंखला शनिबार नगरकोटमा सम्पन्न गरिएको छ ।
काठमाडौंको जहरसिंह पौवाबाट सुरु हाइकिङ सुनडोल कात्तिके भन्ज्याङ हु“दै पाँच घण्टामा नगरकोट बतासेडाँ“डा पुगेको थियो । छेवैमा पिकनिक चलिरहेको बेला चित्रकार एनबी गुरुङसहित लालकाजी लामा, बाबु साइँला र डिबी राईले एकाग्रताका साथ स्थानिय दृष्यहरु क्यानभासमा सजाए । लालकाजीले बौद्ध दज्र्यु र बादलको थाङका–पौभाको रेखा सापटी लिएर आफ्नो क्यानभास रंग्याए । साइँला प्रकृतिमा बढि रमाए, डिबीले चाहिँ भुकम्पपछि स्थानियपनमा देखिएको बदलाबलाई विषयबस्तु बनाए । हरियाली जंगलकाबिच जस्ता पाताले छाएका घरहरुको दृष्यमा डिबी हराए ।

चित्रकार एनबी गुरुङले वाटर कलरमा रुख उभ्याउँदै गर्दा छेवैमा डायरी लिएर क्यानभासमा नियाल्दै थिइन् कवि अनिता लामा । एनबीले चित्र कोर्ने क्रममा रुखकै छेऊ साइकल अड्याइराखेको दृष्य बनाए । खासमा एनबीले आफ्नै अघिल्तिरको दृष्य उतारेका थिए । क्यानभासभित्रको साइकललाई भने कवि अनिताले बलात्कार पछि मृत भेटिएकी निर्मला पन्तको संवेदना पोख्ने माध्यम बनाइन् । र, सिरसिरे हावा चल्दै गर्दा उनले निर्मला सम्झेर प्रत्यक्ष कविता सुनाइन् ।

चित्र र साहित्य सिर्जना एक साथ गरिएपछि तत्कालै डाँडामा चित्र सजाउँदै कविहरुले आ–आफ्ना सिर्जना सुनाए । अनिताले लालकाजीकै चित्रमाथि पनि कविता लेख्न भ्याइन् । कवि एवं नाटककार फूलमान वलले नगरकोटलाई तामाङ समुदायको नजरबाट हेर्दै यसको पुरानो र सांस्कृतिक सौन्दर्यको बखान गरे आफ्नो कविता ‘आदिबासी गीत’मा । रमेश कँडेल, शान्ति वाइबा र अस्मिता अधिकारीले पनि आ–आफ्नो अनुभुतिलाई शब्दमा सजाए । चित्रकार भएपनि बाबु साइँला कविहरुको पंक्तीमा उभिन भ्याए । उनले मुलुकको राजनीतिक विसंगतीमाथि प्रहार गर्दै गजल सुनाए ।

स्वतन्त्र रुपमा थालिएको अभियान अघिल्लो महिना धुलिखेलबाट शुरु भएको थियो । समाजमा सकारात्मक उत्प्रेरणा सिर्जनाका लागि पनि अभियान थालिएको जेसुम संयोजक अनिताले बताइन् । केही श्रृंखलापछि चित्रहरु ग्यालरीमा प्रदर्शनी गर्ने र साहित्यिक सिर्जनाका पुस्तक समेत प्रकाशित गर्ने उनले जनाइन् । समाजको विविधतालाई जोडेर सदभाव र सम्मृद्धि निर्माणका लागि पनि अभियानले सघाउने अनिताले दावी गरिन् ।

Comments