फिल्म ‘नालापानी’ : अंग्रेज फौजविरुद्ध नेपाली वीरताको चित्रण (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, ७ असार बिहीबार
no img

नेपालीको वीरगाथासँग जोडिएको नालापानी किल्लामा आधारित फिल्म ‘नालापानी’ बनिरहेको छ । चितवनको उपल्लोदाङ, जहाँ नालापानी किल्लामा अंग्रेज फौजसँग लडेको युद्धलाई फिल्म ‘नालापानी’मा चित्रण गरिँदैछ । यो फिल्म अहिले छायांकनको अन्तिम चरणमा छ ।


फिल्म ‘नालापानी’ को निर्देशन रिमेश अधिकारीले गरेका हुन् । यो फिल्मको छायांकन चितवनको ऐतिहासिक स्थान उपरदाङ गढीमा गरिएको छ । यस फिल्मलाई उपरदाङमा ९० प्रतिशत र बाँकी १० प्रतिशत राजधानीमा छायांकन हुने निर्देशक अधिकारीले बताएका छन् ।
उपरदाङ गढी चितवनको पुरानो सदरमुकाम हो । सन् १९६० को दशकको सुरुसम्म उपरदाङ गढीमा चितवनको सदरमुकाम रहेको बताइन्छ । ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्छ ।


यस किल्ला तल्कालीन बाइसे–चौबीसे राज्य एकीकरणका बेला अंग्रेज फौजविरुद्ध युद्धको दौरानमा नेपाली भूमिको रक्षाका लागि सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएको इतिहास छ ।


गढीभित्र कोतघर, कालिका र सिद्धबाबाको प्रतिमा, इनारलगायत संरचना छन् । चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाका ठूला टुक्रा, चुन र माटोले बनाइएको छ । उत्तरी मोहडामा प्रवेशद्वार छ भने बीच भागमा इनार र हतियार भण्डार गर्ने कोतघर छ ।
यस ऐतिहासिक फिल्ममा नेपाल आर्मीले उपलब्ध गराएको ५० वटा घोडा र करिब ३ सय हतियारसहितका फौजले पनि अभिनय गरेका छ । यस फिल्म छायांकनका लागि ५ वटा क्यामेरा प्रयोग गरिएको निर्देशक अधिकारीले बताएका छन् ।


निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथविना ‘नालापानी’ निर्माण गर्न असम्भव भएकाले बताएका छन् ।
२०७६ सालमा प्रदर्शनको लक्ष्य लिइएको यस फिल्मका लागि निर्माता मनोज शाक्य रहेका छन् ।


करिब तीनअघि छायांकन प्रारम्भ गरिएको यस फिल्मका लागि ९ करोड अनुमानित बजेट तोकिएको छ । यस फिल्ममा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पुजना प्रधान, इशान विजु श्रेष्ठलगायत नेपाली सेनाले अभिनय गरेका छन् ।


पद्मा कुमारी फिल्मस् प्रालि र गंगानारायण फिल्मस् प्रालिको संयुक्त ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा कृष्ण आचार्यको लेखन, रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, अच्यूत गजुरेलको भीएफएक्स र रामशरण उप्रेतीको छायांकन रहेको छ । (तस्बिर : निर्देशक अधिकारीको फेसबुकबाट)

Comments