रहेनन् कलाकार भीमबहादुर
screennepal
प्रकाशित: २०७५, ३० जेष्ठ बुधबार
no img

कलाकार भीमबहादुर थापाको निधन भएको छ । ९२ वर्षीय थापाको बिहीबार बिहान निधन भएको हो ।
कलाकार थापाले एक सय भन्दा बढी चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिएको छ । दिवंगत थापाको आजै बिहान ११ बजेपछि पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने परिवार जनाएको छ ।
वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।
कुनै समय भीमबहादुर थापा भन्ने जोसुकैको नाम लिँदा पनि मानिस भन्ने गर्थे, ‘को त्यही सैनिक कार्यक्रममा ‘रूपक’ भन्ने सेनानी भीमबहादुर ?’ २००८ देखि ०४५ सालसम्म निरन्तर रेडियो ‘रूपक’ कार्यक्रम चलाएर मेची–कालीको सीमालाई नाघ्दै सम्पूर्ण नेपालीहरूको मनमा बास बसेका उनी सोमबार र बिहीबार बिहान ९ बजे नित्य प्रसारण हुने यो कार्यक्रम सुन्न सबै आतुर हुन्थे ।
१३ वर्षको उमेरमा ब्रिटिस सेनामा भर्ना भएर दोस्रो महायुद्ध लडेका थापा त्यतिखेरै खोटाङको रावा, लामीडाँडामा गाईभैँसी चराउँदै लर्केजोवनसँग बरालिँदै थिए । उनी ब्रिटिस आर्मीबाट फर्किएपछि कलाकारिता थालेका थापा टेलिचलचित्र ‘तितो सत्य’बाट चर्चामा आएका थिए । उनले थुप्रै टेलिचलचित्रहरुमा अभिनय गरेका छन् ।

Comments