फिल्म क्षेत्रमा अन(मोल) चर्चा ?!
screennepal
प्रकाशित: २०७५, १५ जेष्ठ मंगलवार
no img
  • एमपी सुब्बा

यो साता नेपाली फिल्मी क्षेत्र ‘अनमोलमय’ बन्यो अर्थात् अभिनेता अनमोल केसीले यही साता दुई फिल्म ‘साइन’ गरे । तर, ‘अनमोलले फिल्म साइन गरे’ भनेर होइन, चर्चा उनले लिएको पारिश्रमिले पाएको छ ।
अभिनेता अनमोलकै पारिश्रमिकलाई लिएर केही दिन यता सामाजिक सञ्जाल फेसबुकमा बहस नै चलाइएको छ । उक्त बहसमा कतिपयले ‘हिरो–हिरोबीच हुने परिश्रमिक अन्तर’मा विरोध समेत जनाएका छन् ।
‘अनमोलले फिल्म ‘ए मेरो हजुर–३’का लागि ५० लाख रुपैयाँ पारिश्रमिक लिए’ भन्ने केही अनलाइन मिडियाले उल्लेख गरेपछि पत्रकार तथा निर्देशक दीपेन्द्र लामाले आफ्नो फेसबुक एकाउन्टमा स्टाटस लेखे, ‘हिरोलाई ५० लाख हो भने डाइरेक्टरलाई पनि ५० लाख, पटकथा लेखकलाई २५ लाख, हिरोइनलाई २० लाख, सिनेमाटोग्राफरलाई १५ लाख कम्तीमा दिनुप¥यो । अनि मात्र राम्रो फिल्म बन्छ । नत्र स्यालको शरीरमा बाघको टाउको जोडेजस्तो मात्र हुनेछ ।’


नेपाली फिल्मको समीक्षा गर्दागर्दै निर्देशक बनेका दीपेन्द्रको उक्त स्टाटस यतिखेर कलाकार तथा रंग पत्रकारमाझ चर्चामा छ । ‘घामपानी’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका दीपेन्द्र हाल पत्रकारिताबाट विश्राम लिएर नयाँ प्रोजेक्ट गर्दैछन् ।
अनमोलको ५० लाख मोलले चर्चा पाइरहेको बेला उनले फेरि अर्को फिल्म साइन गरेका छन् । अभिनेत्री तथा निर्देशक झरना थापाको ‘ए मेरो हजुर–३’ साइन गरेको सातादिन नवित्दै अनमोलले मिलन चाम्सको नयाँ प्रोजेक्टका लागि अनुबन्धित भएका छन् । जसले अनमोललाई थप चर्चामा ल्याएको छ ।
हालै मात्र रिलिज भएको ‘लिलिबिली’ फिल्मका निर्देशक चाम्सको आगामी प्रोजेक्टका लागि अनमोलले ४० लाख लिएको चर्चा गर्न थालिएको छ । तर, आधिकारिता छैन । न ‘ए मेरो हजुर–३’ टिमले अनमोललाई ५० बुझाएको जनाएको आधिकारिता छ न त चाम्सको फिल्मबाट ४० लाख लिएको नै, ‘कागले कान लग्यो’ भन्दा कानै नछामी कागको पछाडि दौडिने प्रवृत्तिले अभिनेता अनमोललाई भने फाइदै भएको छ । उनी पछिल्लो समय नेपाली स्टारहरुमा चर्चाका हिसाबले सबैभन्दा माथि छन् ।
चर्चा र परिचर्चाकै कारण अनमोललाई भ्याइनभ्याई छ । हिजोआज उनी ‘क्याप्टेन’को छायांकनमा व्यस्त छन् । त्यसलगतै उनी ‘ए मेरो हजुर–३’ मा व्यस्त हुनेछन् । झरनाको फिल्म सक्नेवित्तिकै चाम्सको फिल्मलाई समय छुट्टाएका अनमोल यो वर्षलाई ‘प्याक’ भइसकेका छन् ।
केही समयअघिसम्म वर्षमा एकमात्र फिल्म गर्ने भन्दै आएका अनमोलले लगालग फिल्म साइन गर्न थालेपछि उनीमाथि प्रश्नसमेत उठ्न थालेका छ । ‘दवावले वा आफ्नै इच्छाले एकपछि अर्को फिल्ममा साइन गर्दैछन् ?’ पारिश्रमिकपछि अनमोललाई अहिले यही प्रश्नले चर्चामा ल्याएको छ । -drishtinews.com

 

Comments