काठमाडौं, ४ जेठ । ‘हैरान’ सुन्दै कमेडी । शुक्रबारबाट सिनेमा हलमा लागेको छ यो फिल्म । यस फिल्मले दर्शक पाउला त ? निर्माणपक्षको भनाई छ, ‘आशा छ दर्शकले फिल्म रुचाउँनेछन् ।’
फिल्म ‘हैरान’प्रति दर्शकको एउटा मनोभाव छ, त्यो के भने संसारकै सबैभन्दा कम उमेरका निर्देशक सौगात विष्ट । यो फिल्म उनै सौगातले निर्देशन गरेका हुन् ।
अर्को पक्ष यो फिल्मले केही समयअघि ‘हैरान च्यालेन्ज’ लिएर मोफसल यात्रा गरेको थियो । जहाँ उनीहरुले राम्रो प्रतिक्रिया पाएका थिए ।
अब कलाकारको कुरा गरौं, यो फिल्ममा गजित बिष्ट, सरोज खनाल, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुस्कर रेग्मी, निस्मा घिमिरे, आरोही शर्मा, एन्जल राईलगायतका कलाकारको मुख्य अभिनय रहेको छ । जो फिल्ममा देखिरहेका अनुहार हुन् ।
एक किसिमले भन्ने हो यो पारिवारिक फिल्म हो अर्थात विष्ट प्रोडक्शन ‘हैरान’ । यो फिल्ममा दाजु, भाई र छोराको मिहिनेत छ । निर्देशक सौगातका बाबु गजित हिरो छन् भने भाई नृत्य गम्भीर निर्देशक । साथै, हिरोइन पनि उनै निश्मा ।
फिल्ममा नयाँ के छ त ? ‘केही छैन’, यो कमेडी तथा मनोरञ्जनात्मक फिल्म हो, निर्माणपक्ष यसै भन्छ । ‘छक्का पञ्जा’ जस्ता कमेडी फिल्मले दर्शक तानेको अवस्थामा ‘हैरान’ले पनि तान्ला कि भन्ने निर्माणपक्षको झिनो आशा छ ।
यस फिल्मलाई मुक्ति घले, सृष्टि घिमिरे, डा.वाई एल लामाले संयुक्त रुपमा निर्माण गरेका हुन । जो केही नयाँ छन् फिल्मी क्षेत्रका लागि । तर, सामाजिक सञ्जाल फेसबुकमा भने ‘हैरान’ले साँच्चीकै हैरानै बनाएको थियो अर्थात यस फिल्मका निर्माणपक्षले फेसबुकलाई प्रचारको भाँडो बनाएको थियो ।
यस फिल्मका लागि शब्द÷संगीत सत्यराज र स्वरुपराज आचार्यले गरेका हुन् । फिल्ममा सत्यराज आचार्य, स्वरुपराज आचार्य, बबिता मानन्धर, गिरिस खतिवडा, सरगमा आचार्य जस्ता गायक÷गायिकाको स्वर छ । फिल्ममा नृत्य निर्देशन गम्भिर बिष्टले गरेका छन् भने छायांकन नवराज उप्रेतीले । फिल्ममा शान्ति प्रियाको द्धन्द्ध रहेको छ ।