बंगलादेशमा नेपाल कला सप्ताह सुरु
screennepal
प्रकाशित: २०७५, २५ बैशाख मंगलवार
no img

काठमाडौं, २५ बैशाख । बंगलादेशको राजधानी ढाकामा सोमबारदेखि ‘नेपाल कला सप्ताह’ सुरु भएको छ । जहाँ नौ नेपाली कलाकार सहभागी छन् ।
बंगलादेशको संस्कृति मन्त्रालय र बंगलादेश शिल्पकला प्रतिष्ठानको आयोजनामा सुरु भएको उक्त कार्यक्रममा नेपालको कला र संस्कृति झल्किने विभिन्न कला प्रदर्शन गरिँदैछ ।
सप्ताहको उद्घाटन बंगलादेशका संस्कृति मन्त्री असादुज्जामान नुरले गरेका थिए । सो अवसरमा बंगलादेशका विभिन्न सरकारी अधिकारीहरुको पनि सहभागिता थियो ।
कला सप्ताहमा नेपाल ललितकला प्रतिष्ठानकी कुलपति एवं वरिष्ठ कलाकार रागिनी उपाध्यायको नेतृत्वमा रमेशध्वज श्रेष्ठ, एसी सुमन, सुष्मा राजभण्डारी, गणेशकुमार जिसी, चन्दा श्रेष्ठ, रञ्जु यादव, मनोज तामाङ र कान्छाकाजी भासिमा सहभागी छन् ।
कला सप्ताहमा जम्मा ५७ जना नेपाली कलाकारको कलाकृति प्रदर्शित हुने तथा उक्त क्रममा आयोजना हुने कला गोष्ठीमा दुवै देशका कलाकार सहभागी हुनेछन् ।

Comments