काठमाडौं, १९ बैशाख । पत्रकार दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘घामापनी’ दर्शकले राम्रै रुचाएका थिए । त्यसपछि हौसिएका दीपेन्द्रले अब ‘गोपी’नामक चलचित्र निर्देशन गर्ने भएका छन् ।
आरोही इन्टरटेनमेन्टको ब्यानरमा ‘गोपी’ निर्माण घोषणा गरिएको छ । ‘देशमै केही गर्न सकिन्छ र गर्छु’ पात्रको जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका बाबजुद उसले कसरी सफलताहात पार्छ भन्ने चलचित्र विषय हुने जनाइएको छ ।
बुधबार राजधानीमा एक कार्यक्रमबीच ‘गोपी’ को घोषणा गरिएको हो । ‘गोपी’ कठिन परिस्थिति र जटिल परिवेश हुँदाहुँदै पनि वर्तमान समयामा स्वदेशमै सपनाको खेती गर्ने युवाप्रति समर्पित चलचित्र भएको कार्यक्रममा बताइएको थियो ।
‘गोपी’मार्फत दर्शकलाई मनोरञ्जनकै साथै केही प्रेरणा, आशा र उर्जा दिन सफल हुने विश्वास निर्माण टिमले लिएको छ ।
दीपेन्द्र लामाकै कथा रहेको ‘गोपी’का लागि सामिप्यराज तिमल्सिनाले पटकथा लेखेको छन् । चलचित्रमा श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् भने आरोही केसी निर्माता । चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरेलगायतको मुख्य भूमिका रहने छ । यस चलचित्रलाई शैलेन्द्र डि कार्कीले खिच्ने भएका छन् ।