भूइँखेलमा बसन्तपुरमा कोरिएका चित्र
screennepal
प्रकाशित: २०७५, ९ बैशाख आईतवार
no img

काठमाडौं, ९ बैशाख । विश्व सम्पदा क्षेत्र हनुमानढोका वरपर बसेर पुरातात्विक तथा सांस्कृतिक सम्पदा विषयमा कोरिएका १५० भन्दा बढी कलाकारका चित्रकला स्वयम्भूस्थित भूँइखेलमा प्रदर्शन गरिएको छ ।
कलाकारले सम्पदाको वर्तमान अवस्था, संरक्षणमा भइरहेका पहल, भूकम्पपछिको सम्पदाको अवस्थालाई शुक्रबार क्यानभासमा उतारेका थिए । सांसदद्वय रामवीर मानन्धर र जीवनराम श्रेष्ठले क्यानभास पोतेर सुरु गरेको कला कार्यशालामा बरिष्ठ कलाकारदेखि कलाका विद्यार्थीसमेतको उत्साहजनक सहभागिता थियो ।


विश्व सम्पदा उत्सव मूल समारोह समितिद्वारा आयोजित कार्यशालामा तयार पारिएका चित्रकृति नगरपालिकाले निर्माण गर्ने संग्रहालयमा राखिने सांसद जीवनराम श्रेष्ठले बताए । कला कार्यशालामा सहभागी कलाकारलाई उत्साहित गर्न सांसद जीवनराम श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख तथा मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यलगायत मूल समितिका सदस्यहरु कार्याशाला क्षेत्रमा पुगेका थिए ।
कार्यशालामा बरिष्ठ कलाकारहरु हरिप्रसाद शर्मा, चिनियाँकाजी ताम्रकार, उदयचरण श्रेष्ठ, शंकरराज सिंह सुवाल, राधेश्याम मुल्मी, लोक चित्रकार, गौतम रत्न तुलाधर, जीवन राजोपाध्याय, गेहेन्द्रमान अमात्य, राधेश्याम मुल्मी, रमेश खनाल, नारदमुणि हार्तमछाली, केके कर्माचार्य, श्यामलाल श्रेष्ठ, उमाशंकर साह, सुष्मा राजभण्डारी, वीरेन्द्रप्रताप सिंह, रमेश श्रेष्ठ, धनबहादुर याक्खा, अश्रुराम खाइजू, एससी सुमनलगायत कलाका प्राध्यापक, प्राज्ञसमेतको सहभागिता रहेको थियो ।


कार्यशालामा विविध विधामार्फत् नेपाली कलाको उन्नतिमा सक्रिय युवा कलाकार सिर्जन राजभण्डारी, चन्दा श्रेष्ठ, नेमबहादुर तामाङ, दिपेन्द्रमान बनेपाली, राजेन्द्रप्रसाद याकमी, सुनिता राणा, जस्मिन राजभण्डारी, मिथिला यादव, अरुणा हिङमाङ, समुन्द्रमान श्रेष्ठ, लालकाजी लामा, डिराम पाल्पाली, एनबी गुरुङ, सुरेम देशार, नरबहादुर बिके, डिबी राई, कान्छाकाजी भासिमा, दिलकुमार देशार, राजेन्द्र देशार, जयराम महर्जन, अनिल महर्जन, सृष्टि महर्जन, अनिल खड्कालगायत ललितकला अध्ययन गरिरहेका विद्यार्थीसमेतको सहभागिता रहेको थियो ।
विश्व सम्पदा क्षेत्र हनुमानढोकादेखि स्वयम्भूसम्मको २ दशमलव २ किलोमिटरको ‘हेरिटेज ट्रेक’को विकासका लागि स्थानीयको पहलमा भइरहेको विविध गतिविधिअन्तर्गत कला कार्यशाला आयोजना भएको मूल आयोजक समितिका सचिव डिल्ली रत्न तुलाधरले जानकारी दिए । काठमाडौँ महानगरपालिका र युनेस्कोको सहयोग समेत रहेको सो अभियान अन्तर्गत पदमार्गमा भित्ते चित्रलेखन समेत गरिएको जनाइएको छ ।

Comments