अभिभावक बने अभिनेता हमाल अनि भने, ‘असल अभिभावकत्व प्रदान गर्नेछु’
screennepal
प्रकाशित: २०७५, ८ बैशाख शनिबार
no img

काठमाडौं, ८ बैशाख । अभिनेता राजेश हमाल अभिभावक बनेका छन् । उनले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराए ।
हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बनेका छन् ।
‘मेरो पहिल्यैदेखि चाहना थियो । यसपटक नेपाल सरकारको नीतिले आफूलाई ठूलो अवसर जुटायो’, हमालले भने, ‘राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटकपटक विशेष महत्वका साथ हेरविचार गर्नेछु, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु ।’

विद्यालयको भर्ना कापीमा अभिभावकका रुपमा हस्ताक्षर गर्दै उनले राजलाई झोला, पाठ्यपुस्तक र पाठ्य सामग्री दिए । बालकको लालनपोषणका लागि केही रकमसमेत उनले सहयोग गरेका राजकी आमा लक्ष्मीले बताए ।
कार्यक्रममा बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ र उपप्रमुख मीरा चौधरी, समन्वय एकाइ प्रमुख सुरेन्द्र पराजुली, गौतमबुद्ध माविका प्रअ रामप्रसाद अर्याल, स्रोत व्यक्ति खेमराज पौडेललगायतले हमालको कामले सबैमा उत्सुकता आएको बताए । राज बुद्धभूमि–२ पुरेनाको सामान्य परिवारमा जन्मिएका बालक हुन् ।
बुबा काशीराम र आमा लक्ष्मीका उनी कान्छो सन्तान हुन् । उनका बुबाको गत वर्ष कात्तिक १९ गते भारतमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु भएको एक वर्ष पुगे पनि राजको परिवारले हालसम्म राहत रकम पाएको छैन ।
पतिको मृत्युपछि लक्ष्मी श्रमिक बनेका छन् । उनी नदीजन्य पदार्थ गाडीमा लाद्ने काम गर्छन् । हमालले अभिभावकत्व ग्रहण गरेपछि आफ्नो बालकको भविष्य उज्वल हुने उनले बताए ।

Comments