काठमाडौं, ५ चैत । चलचित्र ‘चौका दाउ’ निर्माण हुने भएको छ । अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको कथा र संगीत रहेको यो चलचित्रलाई उनकै छोरा सौर्यजीव बासकोटाले निर्माण गर्न लागेका हुन् । संगीतकार बासकोटाको जन्मदिनको अबसर यो चलचित्रको निर्माण घोषणा गरिएको हो ।
बैशाखबाट छायाँकन सुरु गरिने यो चलचित्रलाई आगामी तिहारमा रिलिज गरिने उनले बताए । यस अघि आठ ओटा चलचित्रमा कथा लेखिसकेका बासकोटाले चौका दाउ आफ्नो कथामा मा निर्माण हुन लागेको नवौं फिल्म हो भने ।
चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गर्दैछन् । यस अघि राजनीतिक चलचित्र संरक्षण निर्देशन गरेका झाले आफ्नो पहिलो चलचित्र भन्दा चौका दाउ फरक रहेको र हास्यप्रधान प्रेमकथामा आधारित भएको बताए ।
चौका दाउका कलाकारहरुमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह चयन भईसकेको घोषणा सो कार्यक्रममा गरियो । यस्तै निर्मल शर्मा, प्राज्ञहरु रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि बिशेष भूमिकामा रहेको जानकारी गराईयो । यसका नायक र नायिको चयन हुँदै गरेको पनि जानकारी गराईयो ।