स्तब्ध बलिउड | ओइरियो सामाजिक सञ्जालमा श्रीदेवीलाई श्रद्धाञ्जली
screennepal
प्रकाशित: २०७४, १३ फाल्गुन आईतवार
no img

काठमाडौ, १३ फागुन (एजेन्सी) । चर्चित अभिनेत्री श्रीदेवीको निधनले भारतीय चलचित्रजगत त स्तब्ध भयो नै, संसारभरका उनका फ्यान तथा शुभचिन्तक पनि सोकमा डुबेका छन् ।
श्रीदेवीको गएराति (शनिबार) संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला हृदयाघात भइ निधन भएको थियो ।
श्रीदेवीको निधनको समाचारले भारतीय सिने जगतका साथै उनलाई मनपराउने सर्वसाधारण सबै नागरिक स्तब्ध भएका छन् । श्रीदेवीको निधनप्रति भारतका चलचित्रकर्मी र शुभचिन्तकहरुले शोक व्यक्त गरिरहेका छन् ।
चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी श्रीदेवी ५४ वर्षकी थिइन् । उनका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिक रुपमा सफल चलचित्र छन् ।
डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी श्रीदेवीको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो ।
चर्चित अभिनेत्री श्रीदेवी बालकलाकारको रूपमा चार वर्षको उमेरदेखि नै एक तमिल चलचित्रबाट कला जगतमा प्रवेश गरेकी थिइन् । उनले आफ्नो कलाकारिता व्यवसायको सुरुवातका समयमा बालकलाकारकै रूपमा तेलुगु र मलयालम भाषाका चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन् ।
श्रीदेवीले सन् १९७९ मा मुख्य नायिकाकै रुपमा बलिउड चलचित्र ‘सोलहवा साल’बाट अभिनय शुरू गरेकी हुन् । सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि केहीवर्ष चलचित्रमा देखा नपरेपछि उनी किन सो क्षेत्रमा नआएको भन्ने बारेमा निकै ठूलो चर्चा चलेको थियो ।

यसैबीच उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले लोकप्रिय कलाकार श्रीदेवीको निधनबाट भारतलाई बलिउड क्षेत्रमा ठूलो क्षति भएको बताएका छन् । प्रधानमन्त्री मोदीले आइतबार बिहान ट्वीटगर्दै श्रीदेवीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरे ।
त्यसैगरी बलिउडकी अर्की चर्चित अभिनेत्री प्रियंका चोपडाले पनि ट्वीटगर्दै आफूसँग श्रीदेवीप्रति श्रद्धाञ्जलि अर्पणगर्न कुनै शब्द नै नभएको भन्दै आफूलाई ठूलो शोक परेको बताइन् ।
उनले श्रीदेवीको निधनले भारतीय चलचित्र क्षेत्रलाई निकै ठूलो र अपुरणीय क्षति पुगेको बताएकी छन् । भारतीय चलचित्र क्षेत्रका अर्का नायक अक्षयकुमारले श्रीदेवीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
भारतीय कलाकारिता क्षेत्रका हजारौँ व्यक्तिले श्रीदेवीको निधनले बलिउड क्षेत्र नै शोकमा डुबेको र देशलाई ठूलो क्षति पुगेको अभिव्यक्ति दिइरहेका छन् ।
भारतका दशौँ लाख नागरिकले सामाजिक सञ्जालहरुमा उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै श्रीदेवीको निधनले विश्वमा नै चर्चित भारतको बलिउड क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् । श्रीदेवीको पार्थिव शरीरलाई सोमबार मुम्बईको अन्धेरीस्थित उनको घरमा बिहान ७ देखि १० बजेसम्म श्रद्धान्जलीका लागि राखिने जनाइएको छ भने दिउँसो १ बजे अन्तिम संस्कारका लागि लगिने बताइएको छ ।

Comments