काठमाडौं, १८ पुस । लक्स कामना फिल्म अवार्ड्स–२०७४ आउँदो १६ माघमा हुने भएको छ । यसअघि २२ पुसमा अवार्ड गर्ने भनिएको थियो । तर, प्राविधिक कारणवश अवार्ड समारोह सारिएको आयोजक कामना सिने मासिकले जनाएको छ ।
सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामनाले ०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको यो तेस्रो संस्करण शहिद दिवसको सार्वजनिक बिदाका दिन पारेर आयोजना गर्न लागिएको हो । कुल ३२ विधामा हुने अवार्ड समारोह राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भव्यताका साथ आयोजना हुने जनाइएको छ ।
समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ भने निर्णायक मण्डलको आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिने जनाइएको छ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।
अवार्ड समारोहका लागि अहिले तयारी चलिरहेको आयोजक कामना सिने मासिकको प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स्ले जनाएको छ ।