पोल्याण्डमा विदेशीलाई कानुनी सल्लाह–सुझाव दिँदै अमित यादव
screennepal
प्रकाशित: २०७४, २९ मंसिर शुक्रबार
no img

काठमाडौं, २९ मंसिर । वैदेशिक रोजगारीलाई नेपालीका लागि पोल्याण्ड उद्यमस्थल बन्दै गएको अमितकुमार यादवले बताएका छन् । युरोपियन मुलुक पोल्याण्डमा सन् २००६ यता बस्दै आएका यादवले भने, ‘कतार, युएई, मलेसिया जस्ता मुलुकभन्दा रोजगारीका लागि पोल्याण्ड जानु धेरै राम्रो हो ।’


पोल्याण्डको वार्समा ‘एकेवाई आइडिया मेकर’ नामक कन्सल्टेन्सी सञ्चालन गरेर पोल्याण्डमा विदेशीका लागि कानुनी सल्लाह र सुझाव दिँदै आएका यादवले भने, ‘पछिल्लो समय विद्यार्थी भीषामा पोल्याण्ड इन्ट्रि गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।’


आफ्नो कन्सल्टेन्सीमार्फत नेपालका अलावा चीन, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इथोपिया, भियतनाम, फिलिपिन्सलगायतका विद्यार्थीहरुलाई पोल्याण्डमा कन्सल्टेन्स गर्दै आएका यादवले भने, ‘तर, वर्कर भीषामा भने नेपालीलाई मात्र प्राथमिकता दिएको छु ।’ सन् २०१५ यता पोल्याण्डले अन्य देशका कामदारलाई वर्किङ भीषा दिन थालेको हो । नेपालीलाई भने २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पोल्याण्डले वर्किङ भीषा दिन थालेको यादवले बताए ।


पोल्याण्ड युरोपको सेनेगेन मुलुकभित्र पर्छ । विशेषगरी कृषिजन्य वस्तुमा निर्भर पोल्याण्ड युरोपको विकाशोन्मुख राष्ट्रमा पर्छ । त्यसैले पनि पछिल्लो दशकमा आएर पोल्याण्डले विदेशी कामदार भित्राउन सुरु गरेको हो ।
हालको सुनसरी गढी गाउँपालिकाका यादव सन् २००६ मा पहिलोपटक विद्यार्थी भीषामा पोल्याण्ड छिरेका थिए । नेपाली कांग्रेसका नेता विद्येश्वर यादवका माइला छोरा यादव पोल्याण्डमा बस्नेक्रममा सन् २०११ मा पोलिस नागरिक अलेक्स सान्द्रासँग विवाह गरी त्यही घरजम बसाए । यादवकी पत्नी अलेक्सा सान्द्रा यादव वार्स मेनेजमेन्ट युनिभर्सिटीको निर्देशक छिन् । यादवले सन् २०१३ मै पोल्याण्डको पिआर पाइसकेका छन् । त्यसैले पनि उनलाई त्यहाँ काम गर्न सजिलो भएको छ ।
यादवका अनुसार हाल पोल्याण्डमा करिब चार हजार नेपाली छन् । जो विद्यार्थीदेखि कामदारसम्म रहेका छन् । हुन त यो संख्या निकै धेरै हो किनकि, यहाँ नेपालीहरु जान थालेको धेरै भएको छैन । यादवले पछिल्लो समय पोल्याण्डमा नेपालीको संख्या दिनानुदिन बढिरहेको छ । उनले भने, ‘विद्यार्थीका रुपमा जाने त भए नै, कामदारको रुपमा वर्किङ भीषामा जाने नेपालीहरु समेत बढिरहेका छन् ।’ आफूले मात्र पछिल्लो वर्षहरुमा प्रत्येक वर्ष कम्तिमा एक सयभन्दा बढी नेपालीहरुलाई पोल्याण्ड भित्राउँदै आएको यादवले बताए ।
दिनानुदिन विदेशी कामदार भित्रिरहेको अवस्थामा त्यहाँको मुख्य आम्दानी के हो त ? यादव भन्छन्, ‘पोल्याण्ड विकाशील मुलुक हो । त्यसैले त्यहाँ लगानीकर्ताका लागि सरकारले टेक्स फ्रि गरेको छ भने विजुलीमा पैसा दिने गरेको छैन । तर, यो ठूलो उद्योगमा लगानीकर्तामात्र लागू हुनेछ ।’ टेक्स र विजुलीमा फ्रि गरेपछि पोल्याण्डमा विदेशी लगानीकर्ताहरु बढिरहेको यादवले बताए ।
यसरी लगानीकर्ता बढ्दै जानु र उद्योग कलकारखानाहरु बढ्दै गएपछि विदेशी कामदारको भाग पनि बढ्दै गएको उनले बताए । तर, यसरी कामदारको माग बढ्दै जाँदा विकृति पनि बढ्दै गएको उनको बुझाइ छ । पछिल्लो समय पोल्याण्डका लागि थुप्रै नेपाली दलालहरु निस्किएको बताउँदै त्यस्ता दलालहरुबाट बच्न आग्रह समेत उनले गरे ।
पोल्याण्डको मुख्य आम्दानी भनेको कृषि नै हो । उनले माछा, मासु र तरकारीजन्य वस्तुहरु अन्य मुलुकमा निर्यात गर्दै आएको छ । जसले पोल्याण्ड दिनानुदिन समृद्ध बन्दै गएको यादवको बुझाइ छ ।
ढेड दशकभन्दा लामो पोल्याण्ड बसाइमा यादव त्यहाँको वातावरण र रहनसहनसँग नजिक छन् । अझ कानुनी सल्लाह र सुझाव दिने व्यक्ति भएकाले पनि आफूले विदेशी कामदार र विद्यार्थीहरुलाई सकरात्मक सुझाव दिँदै आएको यादवले सुनाए । छोटो समयका लागि नेपाल आएका यादव शुक्रबार नै त्यसतर्फ लागे ।

 

Comments