निर्माता संघमा उपाध्यक्षसहित तीन मनोनयन
screennepal
प्रकाशित: २०७४, २६ कार्तिक आईतवार
no img

काठमाडौं, २६ कात्तिक । निर्माता संघले संशोधित विधानअनुसार केशव भट्टराईलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको छ । संघको कार्यलय गहनापोखरीमा आयोजित कार्यक्रममा भट्राईलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरिएको हो ।
शुक्रबारै कार्यसमिति सदस्यमा विकासराज आचार्य र निश्चल बस्नेतलाई पनि मनोनित गरिएको छ । दुवैको मनोनयन पनि संशोधित विधान अनुसार नै गरिएको हो । यसअघि एक दुईजनामात्र उपाध्यक्ष रहने व्यवस्था थियो भने कार्य समिति सदस्यमा पनि ११ जना सदस्य रहने व्यवस्था थियो । जसमध्ये ९ जना चुनावबाट र दुई जना कार्यसमितिले छनोट गर्ने व्यवस्था थियो । नयाँ संशोधन अनुसार १२ जना चुनावबाट र २ जना मनोनयनबाट कार्यसमितिमा छनोट हुनेछन् । योसँगै निर्माता संघ २१ सदस्यीय कार्यसमितिमा रुपान्तरण भएको छ ।
संघ अध्यक्ष आकाश अधिकारीले निर्माताको हकहितका लागि थप संगठित हुनु पर्ने आवश्यकता महसुस गरि संसोधनमार्फत् कार्यसमिति सदस्यको संख्या बढाएको बताए ।‘हिजोको अनुभव र आजको जोशलाई एक ठाउँ भेला गरेर निर्माता संघलाई गतिशील बनाउन नयाँ सदस्यलाई संघमा आबद्ध गराएका हौं । योसँगै हामीले हाम्रो कार्यकालमा गर्ने भनी अगाडि सारेका एजेन्डामा सक्रियतापूर्वक लाग्नेछौं,’ अधिकारीले भने ।
अधिकारीले बक्स अफिस, फिल्म रिलिज र सेयर बाँडफाँडका सम्बन्धमा सरोकारवालाहरुसँग तदारुकताका साथ वार्ता गर्ने पनि जानकारी गराए । मनोनित तीनै जनाले कार्यसमितिको निर्णायाअनुसार अगाडि बढ्ने बताए ।

Comments