यस वर्षको प्रतिभा पुरस्कार फुलमान वललाई
screennepal
प्रकाशित: २०७४, २० कार्तिक सोमबार
no img

काठमाडौ, २० कार्तिक । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको प्रतिभा पुरस्कार कबि तथा पत्रकार फुलमान बललाई दिने निर्णय गरेको छ ।
शनिबार बेलायतको हाइवेकममा प्रतिष्ठानकी नवनिर्वाचित अध्यक्ष दीपा लिम्बु राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले वरिष्ठ श्रष्टा वेणु आचार्यलाई ‘प्रतिभा सम्मान’ र युवा श्रष्टा तथा फिल्म निर्देशक समेत्त रहेका वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो ।
सम्मानमा २० हजार नगद, ताम्रपत्र र दोसल्ला छ भने पुरस्कारमा एक लाख रुपैयाँ नगद राशी र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।


त्यसै गरी वि.सं. २०३६ साल असोज १२ गते तिमालको काभ्रेमा जन्मिएका वलका ‘काजोल खातुन’ कथासङ्ग्रह, ‘महाभारतकी मैच्याङ’ कवितासङ्ग्रह र ‘म्हेन्दोमाया’ नाटक प्रकाशित छन् भने उनले दुई वृत्तचित्रका अतिरिक्त ‘नीरफूल’ नामक चलचित्र लेखन तथा निर्देशन गरेका छन् । कविता, कथा, नाटक तथा चलचित्र आदिका माध्यमबाट नेपाली समाजको रुपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याएवापत श्रष्टा वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो ।
सम्मान तथा पुरस्कार जनवरी अन्तिम साता काठमाडौंमा एक समारोह आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिए ।
सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट स्व. इश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बुंद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम र भागीरथी श्रेष्ठ सम्मानित भइसकेका छन् ।
यसैगरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी र टीका चाम्लिङ पुरस्कृत भइसकेका छन् ।
बैठकले संस्था स्थापनाको एक दशक पुगेको अवसरमा भाषा, साहित्य तथा साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत संगीत साधना प्रतिष्ठान, नेपाल (इटहरी, सुनसरी), सुदूर पश्चिमान्चल साहित्य समाज (धनगढी, कैलाली), र स्व. पारसमणि प्रधान शालिक संरक्षण समिति (सिलगुढी, पश्चिम बंगाल, भारत)लाई विशेष सम्मान गर्ने निर्णय गरेको महासचिव मिजास तेम्बेले जनाएका छन् ।

 

Comments