काठमाडौं, २४ साउन । राजधानीको भृकुटीमण्डस्थित प्रदर्शनी कक्षमा २६ साउनदेखि ३२ सम्म ‘२१औं नेपाल अन्तराष्ट्रिय पुस्तक प्रदर्शनी–२०७४’ हुँदैछ ।
दुई दशकयता पुस्तक तथा प्रकाशन क्षेत्र एवं पठन संस्कृतिको विकासका लागि गर्दै आएको प्रयासलाई निरन्तरता दिँदै प्रदर्शनी गर्न लागिएको जनाइएको छ ।
नेपालको लोकप्रिय साहित्यिक महोत्सव ‘इन्स्पायर रिडिङ’ अर्थात ‘पढ्नलाई प्रेरणा’ भन्ने नाराका साथ हुन लागेको यस प्रदर्शनीको आयोजक ग्लोबल एक्श्पोजिसन रहेको छ भने नेपाल पुस्तक तथा स्टेशनरी महासंघले सहकार्य गरेको छ ।
यस वार्षिक मेलामा पुस्तक तथा प्रकाशन सम्बन्धि विभिन्न आयामहरू प्रदर्शनी, बिक्री एवं दैनिक सुचनामूलक कार्यक्रममार्फत पुस्तकप्रेमी समक्ष प्रस्तुत गरिने जनाइएको छ ।
२१औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०७४, प्रदर्शन तथा अवलोकनकर्ताहरूका लागि पुस्तक, प्रदर्शन र हालको बजार शैली सम्वन्धि जानकारी प्राप्त गर्न सकिने विशेष अवसरको रुपमा रहने छ । लगभग ६० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागी संस्थाहरूको फरक–फरक विधाका अनेकौं पुस्तकहरू विभिन्न उमेर समुहका पाठकहरूलाई लक्षित गरी प्रर्दशनीमा राखिनेछन् ।
सात दिनसम्म संचालन हुने यस पुस्तक मेलामा करिब ५० हजार आगन्तुकले अवलोकन गर्ने आयोजकको विश्वास छ ।