यस्तो छ ‘रुदाने : बिद्रोहको नेपाली नाम’को फस्टलुक
screennepal
प्रकाशित: २०७४, ८ असार बिहीबार
no img

काठमाडौं, ८ असार । थाहा अभियन्ता तथा राजनीतिज्ञ रुपचन्द्र बिष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने : बिद्रोहको नेपाली नाम’को फष्टलुक सार्वजनिक गरिएको छ ।
विष्टको १८औं स्मृति दिवसको अवसर पारेर चलचित्र निर्माण युनिटले बुधबार चलचित्रको फष्टलुक सार्वजनिक गरेको हो । फष्टलुकमा दुई प्रकारका पोष्टर ल्याइएको छ । ति मध्य एकमा रुपचन्द्रको भुमिका निर्बाह गरेका अभिनेता दिब्यदेब अभियान प्रचार गर्दै गरेको अवस्थामा देखिएका छन् । अर्काे पनि अभिनयानको बिभिन्न झल्को दिने खालको सिम्बोलिक रहेको छ ।
रुपचन्द्रको सिङगो जीवन र थाहादर्शनका महत्वपुर्ण पाटाहरु समेटेर चलचित्र निर्माण भएको हो । अमित किसोर सुवेदी र विकाश ढकालको संयुक्त लेखन निर्देशन रहेको चलचित्र दावनल क्रियसनले थाहायात्रासँगको सहकार्यमा निर्माण गरेको हो । यसका निमार्ता जागृत रायमाझी हुन् ।
चलचित्रमा रुपचन्द्र विष्टको भूमिका अभिनेता दिब्यदेबले निर्बाह गरेका छन् नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायतका सय भन्दा बढि कलाकारको समेत चलचित्रमा अभिनय समेटिएको छ ।
वलिउडका छायाँकार शान्ता राओको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको चलचित्रको कथा निर्देशकद्धयले नै तयार पारेका हुन् । बिष्टको बिभिन्न पाटाको चारबर्ष अनुसन्धान पछि चलचित्रको कथा तयार पारिएको हो ।
बर्षको अन्त्यतिर प्रदर्शनमा ल्याइने चलचित्रबाट २००० देखि २०५६ भित्रको देश बुझ्न जो कोहीलाई पनि सजिलो हुने निर्माण पक्षको दाबी छ ।  रुपचन्द्रको आफु चेला भएको हिसावले उनको जीवनसँग पनि जोडिएकोले ‘रुदाने : बिद्रोहको नेपाली नाम’ निर्माण गरेको निमार्ता जागृत रायमाझीले बताए ।
पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्तामाझ किंबदन्तीको रुपमा रहेका  रुपचन्दको जीवन र थाहादर्शन सम्बन्धित अनेकौ पाटा बाहिर ल्याउने उदेश्यले चलचित्र निर्माण गरिएको निर्देशक मध्यका एक अमित किसोरले बताए ।  सधै सत्य बोल्ने र ठिक काम मात्र गर्ने रुपचन्द्रको जीवन सबैका लागि उत्प्रेरणाको स्रोत बन्न सकोस् भन्ने हिसावले चलचित्र निर्माण गरिएको अर्काे निर्देशक विकाशले बताए ।

Comments