काठमाडौं, १५ बैशाख । कलाकारिता विशेगरी अभिनयमा रुचि राख्नेहरुका लागि बेरी जोन एक्टिङ स्टुडियो चर्चित छ । मुख्य कार्यालय भारतको मुम्बई र नयाँदिल्लीमा रहेको यो एक्टिङ स्टुडियो एक वर्षयता नेपालमा पनि सञ्चालनमा छ ।
ललितपुरको कुपण्डोलमा रहेको मुम्बईको यस स्टुडियोको शाखामा ८ जना कलाकारले अभिनय प्रशिक्षण लिइरहेका छन् । उनीहरु पहिलो ब्याचका विद्यार्थीहरु हुन् । अहिले यो पहिलो ब्याच सकिएर दोस्रो ब्याचका लागि भर्ना कार्य सुरु हुन लागेका स्टुडियोले जनाएको छ । यस स्टुडियोलाई नेपालमा मुस्कान राईले सञ्चालनमा ल्याएका हुन् ।
बेरी जोन एक्टिङ स्टुडियो यस्तो स्टुडियो हो, जहाँ शाहरुख खान्, मनोज बाजपेई, ज्याकलिन फर्नाडिज, फ्रिडा पिन्टो, रिचा चड्ढा, अर्जुन कपुर, बरुण धावन, सुशान्तसिंह राजपुतजस्ता बलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीहरुले अभिनय प्रशिक्षण गरेका थिए । २० वर्षअघि मुम्बईमा सञ्चालनमा आएको यस एक्टिङ स्टुडियोले भारतमा त धेरै स्टारहरु जन्माए नै, अब नेपालमा पनि स्टार जन्माउने हेतुले सञ्चालनमा ल्याएको सञ्चालक मुस्कानले बताएका छन् ।
यो स्टुडियो नेपालमा २०७३ सालबाट सञ्चालनमा आएको हो । तर, अहिले यस एक्टिङ स्टुडियोमा अहिले नेपालका ख्याती प्राप्त मोडल तथा अभिनेत्रीहरु अभिनय सिक्न लालायित छन् । यी मध्येकी एक हुन्, मोडल तथा अभिनेत्री बबिता फोम्बो । पहिलो ब्याचमै अभिनय प्रशिक्षण गर्न पुगेकी बबिताले भनिन्, ‘यो स्टुडियोमा राम्रो सिकाइन्छ ।’ उनका अनुसार यही मे महिनाबाट नयाँ कक्षा सुरु हुनेछ । यहाँ स्टुडियोमा भने राजा भोस्टले अभिनय प्रशिक्षण दिने गरेका छन् ।