इलाम, १९ चैत । नेपाली चलचित्र ‘तारेभीर’ को इलाममा शनिबार विशेष प्रदर्शनी गरिएको छ । रिलिजको मिति नजिकिँदै गर्दा प्रचारप्रसारको क्रमसँगै ‘तारेभीर’को निर्माणपक्षले पूर्वको विभिन्न स्थानमा विशेष प्रदर्शनी गर्दै आएको हो । शनिबार इलामस्थित जिविस भवनमा गरिएको विशेष प्रदर्शनीमा दर्शकको भीड लागेको थियो ।
देउकृष्ण देवनको निर्माण र बरिष्ठ कलाकार प्रेम सुब्बाको निर्देशन रहेको ‘तारेभीर’ आउँदो १९ जेठमा अलनेपाल रिलिज हुँदैछ । नारी प्रधान एक्शन चलचित्र भनिएको ‘तारेभीर’लाई दर्शकको रुचाएको निर्माता देउकृष्णले बताए । उनले भने, ‘अहिलेसम्म जहाँ जहाँ चलचित्र देखाइयो, त्यहाँका दर्शकले चलचित्र रुचाए ।’ इलाममा पनि दर्शकले ‘तारेभीर’ रचाएको निर्माता देउकृष्णले बताए । उनका अनुसार चलचित्र हेर्न गाउँगाउँबाट आएका थिए । बिहान ११ बजे शो राखिएकोमा दर्शकको माग अनुसार साँझ ७ बजे पनि अर्को शो राएिको निर्माता देउकृष्णले बताए ।
‘तारेभीर’ कलाकार प्रेमको पहिलो निर्देशित चलचित्र हो । उनले पनि चलचित्रबाट आफू आशावादी रहेको सुनाए । ‘विशेष शोमा चलचित्र रुचाइएको छ’ निर्देशक प्रेम सुब्बाले भने, ‘त्यसैले चलचित्रले राम्रै गर्ला जस्तो आशा गरेको छु ।’ दर्जनौ चललिचत्रमा अनुभवपछि प्रेमले ‘तारेभीर’ को निर्देशन गरेका हुन् ।
चलचित्रमा नेपाल स्टार विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, जयनन्द लामा, मञ्जु श्रेष्ठ, रञ्जित राना, अजय माझी, निर्मल थापालगायतले मुख्य अभिनय रहेको छ । नेक्स्ट जेनेरेशन इन्टरटेनमेन्टको व्यानरमा प्रस्तुत यस चलचित्रलाई सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट पाएको छ ।