अपांग पुनस्र्थापना विद्यालयका लागि राजेशपायलको २ हजार इँटा
screennepal
प्रकाशित: २०७३, ३० फाल्गुन सोमबार
no img

काठमाडौं, ३० फागुन  । नेपाली गायनका मेगास्टार राजेशपायल राई गायनका त स्टार नै हुन् । तर, उनी गायनमा जस्तै समाजसेवामा पनि चासो राख्छन् र सेवा पनि गर्दै आएका छन् । राजेशपायल राई फाउण्डेशन स्थापना गरेर समाजसेवामा आफूलाई सक्रिय गराउँदै आएका यी मेगास्टार यो साता राजधानीको नैकापस्थित एक अपांग विद्यालयमा पुगे, जहाँ १५ जना अपांग बालबालिका आश्रित छन् ।

राजेशपायलले अपांग बालबालिकासँग करिब एक घण्टा भलाकुसारी गरेपछि उनको मन पग्ल्यो । र, दुई हजार इँटाको मूल्य बराबर २४ हजारको चेक थमाउँदै भने, ‘यहाँहरुलाई यो मेरो पहिलो सहयोग हो । फेरि पनि आउँनेछु ।’ भरत घिमिरेको सङ्योजनमा उक्त सहयोग प्रदान गरिएको हो ।

rajesh payal

तस्बिर : विशाल राई

हो, यी समाजसेवाप्रति चासो र सक्रियता देखाउँदै आएका गायक राजेशपायलले नैकापस्थित सिर्जनशील अपांग पुनस्र्थापना तथा विशेष शिक्षा विद्यालयलाई नगद सहयोग गरेका हुन् । करिब दुई वर्षअघि स्थापना भएको उक्त अपांग पुनस्र्थापना केन्द्रले हाल जग्गा बहालमा लिएर भवन बनाइरहेको छ । तर, आर्थिक अभावका कारण काम रोकिएको विद्यालय सञ्चालक समितिकी अध्यक्ष सुशीला मल्लले बताइन् । उनले भनिन्, ‘अहिलेसम्म कतैबाट सहयोग पाएका छैनौं । तर, आज नेपालका राष्ट्रिय कलाकार राजेशपायल राईले सहयोग गरे हामीलाई ठूलो गुण गर्नुभएको छ ।’
उक्त सिर्जनशील अपांग पुनस्र्थापनालाई १२ जना मिलेर सुरुवात गरेको हो । अहिलेसम्म पुनस्र्थानाकै सदस्यहरुको बलबुतोले चलिरहेको अध्यक्ष मल्लले बताइन् । १२ जना सञ्चालक समिति रहेको यस अपांग आवास तथा विद्यालयमा १५ जना अपांग बालबालिकाहरुलाई पढाउने काम पाँच जना शिक्षक तथा शिक्षिकाले गरिरहेका छन् । तर, उनीहरुले आफूहरुलाई शिक्षक तथा शिक्षिका नभन्न आग्रह गरे । उनीहरुले भने, ‘हामी शिक्षक–शिक्षका होइन, सयंम सेवक हुँ ।’ हुन पनि उनीहरुले बेतलवी अध्यायपन गराउँदै आएका छन् । घिमिरले पनि राजेशपायल मार्फत सहयोग गर्न पाउदा खुशी लगेको बताए ।
राजेशपायल पछिल्लो केही वर्षयता विश्वका विभिन्न मुलुकमा स्टेज पर्फमेन्स गर्नमै व्यस्त हुँदै आएका छन् । अमेरिका र युरोपलाई पानी पधँरो बनाउँदै आएका राजशेपायल केही दिनमै अफ्रिकन मुलुक नाइजेरियामा सांगीतिक कार्यक्रमका लागि जाँदैछन् । जहाँ पहिलोपटक नेपाली कलाकारलाई प्रस्तुत गर्न लागिएको हो । यसको सौभाग्यमा पनि राजेशपायलले नै पाएका छन् । अफ्रिकन नाइजेरियामा कार्यक्रमका लागि जान लागेका राजेशपायलले भने, ‘नाइजेरिया, जहाँ पहिलोपटक जाँदैछु ।’

Comments