काठमाडौं, २० फागुन । कला मानवीय जीवनको समृद्ध पक्षको उज्यालो ढोका हो । यसमा जीवनका विविध आयाम र परिवेश अन्तघुर्लित हुन्छन् । संवेग र उत्कर्षको समुच्य रुपलाई कलाले संबोधन गर्दछ । समाजका विविध परिवेश र मानवीय जीवनका अन्तरघटना कलामा अभिव्यक्त हुन्छ । यिनै परिवेश र घटनालाई बिम्बित गर्दै १८ जना कलाकारले नेपाल आर्ट काउन्सिलमा कला प्रदर्शनी गरेका छन् ।
बिहिबारदेखि सुरु भएको ‘आत्मबोध’ शीर्षकको सामूहिक कलामा मानव, समाज, चराचर जगत, राजनीति, पर्यावरण, युद्ध तथा समाजका विकृत परिवेशजस्ता विषयलाई उठाइएको छ ।
अग्रज कलाकार तथा सिर्जनाकलेज अफ फाइन आर्टस्का प्रिन्सिपल कृष्ण मानन्धरले उद्घाटन मन्तव्य नेपाली कलामा नयाँ कलाकारले निकै राम्रो गर्दै गइरहेको र कला क्षेत्र फराकिलो बन्दै गरहेको बताए ।
कलाकार तथा लेखक सरोज बज्राचार्यले नेपाली कलामा नयाँ पुस्ताका कलाकारले उदाहरणीय काम गर्दै अघि बढेको बताए । अर्का कलाकार तथा कलालेखक मदन चित्रकारले आजका कलामा गतिशिलता र विविधता रहेको बताउँदै प्रदर्शनीमा राखिएका कलाले नेपाली कलाको भविष्य दर्शाइरहेको बताए । उनले भने, ‘आजको कलामा गतिशिलता हुनु पुरानो ढर्राबाट विमुख भएर नयाँ र आफ्नो शैलीमा प्रदर्शनीमा सहभागी कलाकारले काम गरेको देखिन्छ ।
कलाकार तथा समीक्षक रमेश खनालले कलामा परिष्कृत रुपमा रहेको तथा समसामयिक विषयमा केन्द्रीत रहेर कलाकारले काम गरेको बताए । उनले भने, ‘समाजमा विद्यमान विकृति, विसंगतिलाई अधिकांश कलाकारले चित्रमा व्यक्त गरेको देखिन्छ ।’
काम सो कला प्रदर्शनीमा त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभागको स्नातकोत्तर चौथो सेमेस्टरका १८ जना कला विधार्थीका ८० कलाकृति प्रदर्शनी मा राखिएको छ । प्रदर्शनीमा मन गुरुङ, विक्कु थापा, भुफान लिम्बु, विकास श्रेष्ठ, धुव्र राज शर्मा, दीपक मेहत्ता, जया शर्मा, जेनी घले, जुजुकाजी श्रेष्ठ, काजी राना, लक्ष्मी मगर, ओमप्रकाश गुरुङ, प्रमिला लामा, प्रमोद कुमार तण्डुकार, रितु थापा, सुदेशा श्रेष्ठ, उमा खडका र उपकार घमाल सहभागी छन् ।
समूहगत प्रदर्शनीले एकअर्काका कलाका चिन्तन, परिवेश र शैलीलाई बुझ्न सजिलो हुने प्रदर्शनीमा सहभागी कलाकार जया शर्माले बताइन् ।
कलाकारलाई बाहिर ल्याउन र कलाको माहोल निर्माण गर्न महत्वपूर्ण सघाउँ पु¥याउने अर्का सहभागी कलाकार जुजुकाजी श्रेष्ठले बताए ।
यस प्रदर्शनीले कलाकारमा सामूहिक भावनाको विकास गर्ने र त्यसले समग्र कला क्षेत्रमा सकारात्मक प्रभाव पार्ने भएकाले प्रदर्शनीको आयोजना गरिएको सहभागी कलाकार विक्कु थापाले बताए ।
समाजमा कलाले सकारात्मक प्रभाव पार्ने मानिस भित्र रहेको सिर्जनशिल पक्षलाई उजागर गर्ने भएकाले कला प्रदर्शनीमार्फत समाजमा जागरण ल्याउने भएकाले प्रदर्शनी महत्व बढ्ने प्रदर्शनीमा सहभागी कलाकार मन गुरुङले बताए । प्रदर्शनी २३ गतेसम्म रहने आयोजकले बताए ।