काठमाडौं, ५ फागुन । ३५० भन्दा बढी सहभागी भएको कला प्रदर्शनी अहिले नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । अल्फ्रेस्को मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले गरेको यस प्रदर्शनीमा जीवरत्न शाक्य, शंकरराज सिंह सुवाल, गेहेन्द्रमान अमात्य, हरेराम जोजु, सुरेन्द्र प्रधान, सुषमा राजभण्डारीदेखि नर्सरीमा पढने बालबालिका चित्र राखिएको छ । प्रतियोगितासहितको सो प्रदर्शनीको सोमबार व्यवसायी अम्बिका श्रेष्ठले एक समारोहका बीच उद्घाटन गर्दै नेपाली कलामा यस किसिमका कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताउँदै भनिन्, ‘प्रदर्शनीले नेपाली कलालाई समेटेको छ । अल्फ्रेस्कोले यस्तो प्रदर्शनीलाई हरेक वर्ष निरन्तर रुपमा गर्नुपर्छ ।’
प्रदर्शनीमा व्यवसायी जयराम लामिछानेले प्राइभेट सेक्टर र गर्भमेन्टले आर्ट सेक्टरलाई माथि उठाउनका लागि काम गर्नुपर्ने बताए । प्रदर्शनीका संयोजक श्यामकृण श्रेष्ठले नेपाली कला क्षेत्रका सबैलाई अवसर प्रदान गर्ने र नयाँ कलाकारलाई अगाडि बढाउने उद्देश्यसहित कार्यक्रम गरिएको बताए । सातौं अल्फ्रेस्को आर्ट एक्जिविशन कम कम्पिटिशनमा राखिएका कलामा नेपाली परिवेश र मौलिक विषयको प्रधानता रहेको छ । थाङ्का÷पौभा, समसामयिक, बाल कला प्रदर्शनीमा राखिएको र सबै पुस्ताका कलाकारलाई एकैठाउँमा ल्याइ कलाकृतिमा विविधता दिन खोजेको प्रदर्शनीका संयोजक श्रेष्ठले बताए ।
नेपाली कलामा सबै पुस्ताका कलाकारलाई समेटेर गरिएको प्रदर्शनीले कलामा देखापरेका विविध प्रवृत्ति र शैलीलाई एकैपटकमा बुझ्न सकिने सहभागी कलाकार राजकुमार रानामगरले बताए । उनले भने, ‘प्रदर्शनीले कलाकारलाई बाहिर ल्याउन र उनीहरुलाई चिनाउन समेत सघाउँ पुग्ने भएकाले यस्ता गतिविधि नियमित गर्नुपर्दछ ।’ प्रदर्शनीमा सहभागी अर्का कलाकार राजकृष्ण मर्हजनले यस्ता प्रदर्शनीले कलाकारलाई अवसरसँगै कलाका विविध आयामका विषयमा संवाद गर्ने, बुझ्ने र चिन्न सघाउँ पु-याउने बताए । उनले थपे, ‘जेनेरेशन ग्यापलाई यस प्रदर्शनी पुर्ने काम गरेको छ ।’
प्रदर्शनी जीवरत्न शाक्य, हरेराम जोजु, गेहेन्द्रमान अमात्य, शंकरराज सिंह सुवाल, सुरेन्द्र प्रधान, सुषमा राजभण्डारी, राजकुमार रानामगर, राजकृष्ण मर्हजन, कुन्ती थापामगर, विक्रम प्रजापति, शंकरसन श्रेष्ठ, शिव शर्मा, किशोर नकर्मी, विपना मर्हजन, खिललाल जोशी सपना पौडेल मर्हजन लगायतका कलाकारका कलाकृति राखिएको छ ।
क्याम्पस तथा स्कुलस्तरका विद्यार्थीबीच प्रतिस्पर्धा समेत गरिएको सो प्रदर्शनीमा माध्यमिक तहमा अक्षरा सिंह लिंकन स्कुल, निमावि तहमा खुशी सर्राफ मोर्डन इण्डियन स्कूल, प्रावी तहमा आर्या लामा रेडन उमावि र कलेजस्तरको प्रतियोगितामा लिजा गैरेले बनाएको चित्र पहिलो भएका छन् ।
क्याम्पस स्तरको प्रतियोगितामा सञ्जय श्रेष्ठ दोस्रो, दिपेश सिंजाली मगर तेस्रो र झन्कार सापकोटा, रुद्रप्रताप अधिकारी र श्रीतिका सिंहले सान्त्वना पुरस्कार पाएका छन् । त्यस्तै, मावि तहतर्फ श्रीजा शाक्य दोस्रो, सुप्रिया राई तेस्रो र रविन शाक्य, रुपेश महर्जन, केशव मल्लले सान्त्वना स्थान हासिल गरे।
निमावितर्फ सुभम रन्जित दोस्रो, सोनी लामा तेस्रो र सचिन श्रेष्ठ, दिवस अधिकारी, सपना दासले सान्त्वना स्थान जिते। त्यस्तै, प्राथमिक तहतर्फ निशान लामा दोस्रो, आर्यन सर्राफ तेस्रो र रेनुका मगर, रन्जित बानियाँ, समिर राई सान्त्वना पाए ।
सो प्रदर्शनीमा प्रतियोगितामा सामेल बाहेकका अरु चित्र पनि राखिएको छ । जसमा एसओएस बालग्रामका बालबालिकाले बनाएका चित्र पनि छन् । प्रदर्शनी एक साता चल्ने आयोजकले बताए ।