सुनसरी, १ फागुन । इटहरी उपमहानगरपालिकाको सांस्कृतिक भवनमा माघ २८ गते शुक्रबारदेखि बृहत् पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव शुरु भएको छ ।
यादव खरेलको नियात्रा कृति समुद्रपारिको एक अंश वाचन गरेर पृथक तरिकाले प्रमुख अतिथि प्रा.डा. टंकप्रसाद न्यौपानेले औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए । पुस्तक पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रेरणाका लागि पुस्तक भन्ने सन्देसका साथ डिकुरा पब्लिकेसन, काठमाण्डौ र रेस मिडिया इटहरीको आयोजनामा भएको हो ।
टंकप्रसाद न्यौपानेले भने, कुनै हलमा भन्दा खुला ठाउँमा यस्ता प्रदर्शनीको आयोजना गर्ने हो भने जोकोही बाटो हिंड्नेका लागि पनि सहज पहुँचमा पुस्तक पुग्न सक्छन् ।
डिकुरा पब्लिकेसनका अध्यक्ष तथा कार्यक्रमका संयोजक पुण्यप्रसाद प्रसाई भने, मोफसलमा यसरी पुस्तक प्रदर्शनी गर्नुको खास कारण बिक्रीका लागि भन्दा पनि पुस्तकप्रति आकार्षण र पढ्ने बानीको विकासका लागि नै हो । उनले भने, पढ्नेहरुको बानी छुटेको हुनसक्छ र यस्ता प्रदर्शनीले फेरि पढ्नका लागि प्रेरित गर्ने छ ।
प्रा.डा. बद्रीप्रसाद पोखेलले भने, मानिस खोक्रो र बोक्रो बनाउने भनेकै पठन संस्कारको विकास नहुनाले हो ।
डिकुराको आयोजनामा मोफलसलमा विर्तामोडबाट सुरु भएको प्रदर्शनी इटहरीको भने एघारौं श्रृंखला हो ।
नौ दिने यस प्रदर्शनीमा १६ वटा सेसन राखिएको छ । कार्यक्रमको दोस्रो दिन बिहान राम खरेलको संयोजनमा सृजनात्मक लेखन कार्यशाला भयो भने दिउँसो विवेक विवस रेग्मीको संयोजनमा खुला रचना वाचन गरियो । प्रदर्शनी फागुन ७ गतेसम्म चल्ने छ ।