काठमाडौं, २२ माघ । गंगबुकी शोभा भण्डारी चलचित्र ‘ब्वायफ्रेण्ड’मार्फत अभिनेत्रीका रुपमा डेब्यु गर्दैछिन् । मोडलिङ हुँदै उनी अभिनयमा प्रवेश गरेकी हुन । शोभाले छोटो समयमै आफूाई ग्ल्यामर क्षेत्रमा स्थापित गराएकी छन् । सानैदेखि कला क्षेत्रमा रुचि भएकाले ग्ल्यामरस पेसा राजेकी उनले सुनाइन् ।
शोभा हालसम्म दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । उनी आफ्नो पहिलो अभिनीत चलचित्रबाट निकै आशावादी छिन् । ‘हेरौं कस्तो हुन्छ’ आफ्नो पहिलो चलचित्रबारे उनले सुनाइन्, ‘सकेसम्म मिहिनेत गरेकी छु ।’
आधुनिक एवं दोहोरीको म्युजिक भिडियोमा बढी व्यस्त हुने गरेकी शोभाले आफूलाई चलचित्रले बढी आकर्षित गरेका बताइन् । भर्खरै छायांकन सकिएको चलचित्र ‘ब्वायफ्रेण्ड’मा उनी चञ्चले युवतीको भूमिका निभाएकी छन् ।