विश्वकै ठूलो भैरवको मखुन्डो बनाइने !
screennepal
प्रकाशित: २०७३, १३ माघ बिहीबार
no img

काठमाडौं १३ माघ । विश्वकै ठूलो भैरवको मखुन्डो बनाउन लागिएको अग्रज परमपरागत मूर्तिकार राजकुमार शाक्यले बताएका छन् । नेपाल ललितकला पत्रकार समाजले हरेक महिनाको दोस्रो बुधबार गर्दै आएको ‘कलाका कुरा’ को १५औं श्रृंखलामा बोल्दै शाक्यले धातुको पातामा भैरवको मूर्ति कुँदने र त्यसले नेपाललाई विश्वमै चिनाउन मद्दत गर्ने बताए ।

kala
नेपाली कलाको इतिहास दुई हजार वर्ष लामो रहेको र त्यसले हामीलाई आफ्नो पहिचान दिन सकेको बताउँदै उनले भने, ‘नेपाली मूर्तिकलाको मौलिकताले हामीलाई समृद्ध र वैभवशाली बनाएको छ । हाम्रा पुर्खाको सीप र क्षमताले हामीलाई विश्वमै परिचित गराउन सकेको छ ।’
कार्यक्रममा नेपाली परम्परागत मूर्तिकलाका विविध आयाम र विकासका बारेमा जानकारी गराउँदै शाक्यले नेपालमा यसले प्राचीन कालदेखि नै आर्थिक विकासमा योगदान दिएको बताए ।
परम्परागत रुपमा पारिवारिक पृष्ठभूमिबाटै यो क्षेत्रमा लाग्ने अवस्था अहिले अन्त्य भएको छ । अचेल अन्य समुदायबाट पनि परम्परागत कलाका क्षेत्रमा लाग्नेहरुको संख्या बढ्दै गएको छ । यसले सबैमा यसको पहुँच पु¥याउन सहयोग गरेको छ भने आर्थिक विकासमा समेत मद्दत पु¥याएको शाक्यले बताए । राज्यले थोरै मात्र चासो राखेमा नेपाली कलाले विश्वमा आफ्नो प्रभुत्व जमाउनेमा उनी विश्वस्त रहेको जनाए । ‘अहिले पनि कलाकारलाई अर्डर बमोजिम काम गर्न भ्याई नभ्याई छ । राज्यले यो कलालाई पनि उच्च शिक्षाको घेरामा ल्याएमा नयाँ पुस्ताको आकर्षण बढ्ने र रोजगारी अझै बढ्दछ,’ शाक्यले थपे ।
‘नेपाली परम्परागत कलाको सीप र कालिगढी क्षमता विश्वमै विशिष्ट रहेको छ । नेपाली कलाकारको माग लिच्छवी कलादेखि नै अन्तर्राष्ट्रिय रुपमै रहेको थियो । जुन आजसम्म कायम छ’ शाक्यले भने । उनले नेपाली कला परम्परामा धातुको पातामा सिधै मूर्ति बनाउने मूर्तिकारको छवि बनाएका शाक्यले भुटानमा १२५ फिट अग्लो मूर्ति निर्माण गरेका छन् । उनले नेपालका विभिन्न गुम्बा, स्तूपा, मन्दिरमा आफ्नो कलाकृति बनाइ सकेका शाक्यले भारत लगायतका विश्वका विभिन्न स्थानमा आफ्ना सिर्जना पु¥याइसकेका छन् ।
समाजमा धार्मिक र आर्थिक उपार्जन गर्नमा कलाको भूमिका अहम् रहनेमा उनले जोड दिए । कलाकारले बनाउने कलाले समाजमा मानिसमा सकारात्मक प्रभाव पार्ने समेत उनले बताए ।
नेपाली परम्परागत कलाको विकासका साथै यसमा कलाकारको क्षमता अभिबृद्धिका विविध कार्यक्रम गर्ने उद्देश्यसहित स्थापित सुमेरु कलाग्रामका अध्यक्ष समेत रहेका शाक्यले नेपालका साथै विश्वका विभिन्न स्थानमा आफ्ना कलाकृति प्रदर्शनी गरिसकेका छन् । ‘संस्थागत रुपमा कला नबुझेका तर बुझ्न चाहनेलाई बुझाउने, कालिगढलाई कलाकार बन्न प्रेरित गर्ने र कलाकारहरुलाई न्यायोचित स्थान दिनका लागि सुमेरुले काम गरिरहेको छ,’ उनले भने ।
लिच्छवीकाल, मल्लकालमै प्रगतिको चरममा पुगिसकेको नेपाली मूर्तिकलालाई पुनजागृत गर्दै नेपाली कला विश्व सामु चिनाउने लक्ष्यका साथ नेपाली कलाकारले काम गरेको शाक्य बताए । नेपाली परम्परागत कलाका एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको र त्यसले नेपाली मौलिक कलालाई बचाउन सकिएको बताउँदै शाक्यले भने, ‘बाबु बाजेबाट सिक्दै यहाँसम्म नेपाली कला आएको यसलाई अझ प्रभावकारी रुपमा विकास गर्दै संमृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने अवस्था आएको छ ।’
सात वर्षको उमेरदेखि बुवाको हात समाएर कलामा होमिएका शाक्यले नेपालका विभिन्न गुम्बा, चैत्यका साथै भुटान, चीन, भारत लगायतका देशमा मूर्ति पु¥याएका छन् । नेपालमा विश्वकै सबैभन्दा ठूलो भैरवको मखुन्डो मूर्ति बनाउन लागेको समेत शाक्यले सो कार्यक्रममा बताए । सो कार्यक्रमको सहजीकरण समाजका महासचिव देवेन्द्र थुम्केलीले गरेका थिए भने पत्रकार, कलाकार र कला अनुरागीहरुले शाक्यसँग नेपाली परम्परागत कलाका बारेमा जिज्ञासा राखेका थिए ।

Comments