काठमाडौं, २, माघ । मानव बस्तीलाई क्यानभासमा उतारेर तयार पारिएका युवाकलाकार नेमबहादुर तामाङ–४०, का चित्र यत्ति बेला मिथिला येँ आर्ट ग्यालरीमा प्रदर्शनमा छन् ।
तामाङको चौथो एकल चित्रकला प्रदर्शनीमा भूकम्पपछिको बस्ती र त्यसको वस्तुस्थितिमा पनि मानिसले कसरी आफ्नो जीवनलाई सहज बनाइरहेका छन् भन्ने भावका कलाकृति रहेका छन् ।
२६ पुसबाट सुरु भएको सो प्रदर्शनीको उद्घाटन अग्रजकलाकार तथा सिर्जना कलेज अफ फाइन आर्टस्का प्रिन्सिपल कृष्ण मानन्धरले एक समारोहका बीच गरेका थिए । मानन्धरले नेपाली कलामा तामाङले निकै राम्रा र उत्कृष्ट कलाकृति बनाएको बताए । उनले भने, ‘कलाकार नेम निकै मिहिनेतपूर्वक कामगर्ने कलाकारका साथै असल शिक्षक पनि हुन् ।’
‘बस्ती–२’ शीर्षकमा गरिएको प्रदर्शनीमा तामाङले २०७२ को भूकम्प पछाडिको बस्तीको परिवेशलाई कलात्मक रुपमा क्यानभासमा चित्रण गरेको समीक्षक रमेश खनालले बताए ।
कलाकार तामाङले चित्रमा रङ र तुलिकाको प्रयोगलाई सशक्त रुपमा प्रस्तुत गरेको ग्यालरीका क्यूरेट श्यामसुन्दर यादवले बताए । समय र समाजको तत्कालिन अवस्थालाई निकै कलापूर्वक क्यानभासमाउतार्न सक्ने सिर्जनशिल कलाकारको रुपमा नेमबहादुर तामाङ रहेको कलाकार तथा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले बताए ।
चित्रमा रङ, विषय, समाजको तत्कालिन अवस्था र मानिसमा रहेको आशाका विषयलाई तामाङले क्यानभासमा उधिनेका छन् । पुनर्निर्माणको काम चलिरहेका बेला उनले त्रासदीका बीचमा आशाको दीपलाई समेत क्यानभासमा सिर्जनात्मक ढंगले सशक्त रुपमा प्रस्तुत गरेकाछन् । नेपालीजतिसुकै जटिल अवस्थामा पनि हाँस्न र त्यही परिवेशमा समस्यासँग जुध्ने आँट राख्ने तर्क गर्दै कलाकार तामाङ भन्छन्, ‘नेपालीले त्यत्रो त्रासदिलाई पनि सहजतापूर्वक आत्मासात् गर्दै समाजमा आफूलाई अन्तरघुलित बनाउँदै जीवनलाई खुशी साथ सहज बनाइरहेका छन् । मैले तिनै हृदयस्पर्शी सुन्दरतालाई क्यानभासमाकलामार्फत व्यक्त गरेको हुँ ।’
विगत दुई दशकदेखि नेपाली ललितकला क्षेत्रमा क्रियाशिल तामाङले त्रिविअन्तर्गतको ललितकला क्याम्पसमा पाँच वर्षदेखि प्राध्यापन कार्य गर्दै आएका छन् । देश विदेशमाथुप्रै पटक कला प्रदर्शनी गरिसकेका उनी विभिन्न संघसंस्थाबाट पुरस्कृत तथा सम्मानित भएका छन् ।