टर्निङ प्वाइन्ट : २०१६ मा चम्केकी सहिमा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १२ पुष मंगलवार
no img

 ‘हेरेको हेरै हुन्छु होला म’ गीतबाटै एक किसिमले सांगीतिक उचाइ लिएकी सहिमाले भनिन्, ‘वास्तवमै यो वर्ष मलाई फापेको छ ।’ अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा हुन लागेको सांगीतिक कार्यक्रममा सहभागी हुन बुधबार कतारतर्फ प्रस्थान गर्न लागेकी सहिमाले भनिन्, ‘यो वर्ष धेरैजसो विदेशमै व्यस्त भएँ । यो मेरो लागि सांगीतिक टर्निङ प्वाइन्ट पनि हो ।’

– एमपी सुब्बा

काठमाडौं, १२ पुस । गायिका सहिमा श्रेष्ठका लागि सन् २०१६ सांगीतिक करिअकै ‘टर्निङ प्वाइन्ट’ सावित भएको छ अर्थात् उनलाई यो अंग्रेजी वर्ष राम्रै ‘फलिफाप’ भयो । यसै वर्ष सहिमाले जापान, सिंगापुरजस्ता एसियाली मुलुकलगायत युरोपका दर्जनौ देशमा आफ्नो गायन प्रतिभा प्रस्तुत गर्न भ्याइन् ।

sahima-shrestha-1
पहिलो एल्बम ‘सहिमा’को ‘हेरेको हेरै हुन्छु होला म’ गीतबाटै एक किसिमले सांगीतिक उचाइ लिएकी सहिमाले भनिन्, ‘वास्तवमै यो वर्ष मलाई फापेको छ ।’ अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा हुन लागेको सांगीतिक कार्यक्रममा सहभागी हुन बुधबार कतारतर्फ प्रस्थान गर्न लागेकी सहिमाले भनिन्, ‘यो वर्ष धेरैजसो विदेशमै व्यस्त भएँ । यो मेरो लागि सांगीतिक टर्निङ प्वाइन्ट पनि हो ।’

sahima-shrestha-4
सन् २०१६ सकिनै लाग्दा सहिमाले आफ्नो सांगीतिक सफलताबारे यसरी व्याख्या गरिन्, ‘मलाई त २०१६ जस्तै साल आइरहोस् भन्ने लाग्छ ।’ यो वर्षमा मात्रै जापान, बेल्जियम, सिंगापुर, मलेसिया, दुवई, बहराइन, नेदरल्याण्डजस्ता दर्जनभन्दा बढी मुलुकमा आफू प्रस्तुत भएको उनले सुनाइन् । जहाँ पुगेपनि सकरात्मक प्रतिक्रिया पाएको पनि सहिमाले बताइन् । उनले भनिन्, ‘यसै वर्ष दर्जन मुलुकमा सांगीतिक प्रस्तुती दिएँ, सबै देशमा रहेको श्रोता तथा दर्शकबाट एकदमै राम्रो प्रतिक्रिया पाएँ, जसले मलाई थप हौसला र प्रेरणा मिलेको छ ।’

sahima-shrestha
हुन त सहिमा स्टेज पर्फमिङमा निकै अगाडि छिन् । नृत्य गर्दै गाउने उनको बानी छ । त्यसैले पनि उनी दर्शकलाई मनोरञ्जन प्रदान सक्षम छिन् । सहिमाको सांगीतिक सफलताको यो पनि एउटा मुख्य कडी मान्न सकिन्छ ।
यसरी पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा उचाइ लिइरहेकी सहिमाले विदेशका बाबजुद नेपालमा हुने कार्यक्रम र रेकर्डिङ पनि भ्याउँदै आएकी छन् । आधुनिक गीतका अलावा पाश्र्वगायनमा समेत चम्किँदै गरेकी सहिमाले स्क्रीन नेपालसँग भनिन्, ‘चलचित्र हवल्दार सुन्तलीको गीत ‘तिम्रो डोला–डोला हातमा…’ हिट भएपछि स्टेज कार्यक्रममा व्यस्त हुन थालेकी हुँ ।’ जुन चलचित्रको संगीत दीपक शर्माले गरेका हुन् । हुन त यी बाहेक पनि सहिमाका दर्जनौ गीत हिट छन् ।

sahima-shrestha-2
२०६८ सालदेखि सांगीतिक यात्रामा लम्किरहेकी सहिमाले भनिन्, ‘अहिले जुन सफलता पाएकी छु, त्यो मेरो मिहिनेतको फल जस्तो लाग्छ ।’ यहाँसम्म आइपग्दा सहिमाले तीन आफ्नो सोलो एल्बम र दर्जनौ नेपाली चलचित्रमा गाइसकेकी छन् ।
आधुनिक गीत पनि उनले उत्तिकै गाउँदै आएकी छन् । तैपनि अहिलेसम्म सांगीतिक क्षेत्रबाट कमाएको पैसा संगीतमै लगानी गर्न मात्र पुगेको उनले बताइन् । ‘गीतसंगीतको मेरो ठूलो मिहिनेत र लगानी छ’ हाल कार्यक्रमको व्यस्तताको बाबजुद पनि चौथो एल्बमको तयारी गरिरहेकी सहिमाले स्क्रीन नेपाललाई भनिन्, ‘म जति कमाउँछु, सबै संगीतमा लगाउँदै आएकी छु किनकि, गीतसंगीत मेरो प्यासन हो ।’ चाँडै आफ्नो चौथो एल्बम ‘स्वर्ग’ श्रोता तथा दर्शकमाझ ल्याउने सुनाउँदै उनले भनिन्, ‘अहिलेको अवस्थासम्म आउन मलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । विशेषगरी संगीतकार दीपक शर्मा र छविराज प्रोडक्शनप्रति आभार व्यक्त गर्न चाहन्छु ।’
सहिमाका हेरेको हेरै हुन्छु, तिम्रो डोला डोला हातमा, तिमी किन ल्याङ् ल्याङ, तिम्रो पिक्चर हिट जस्ता दर्जनौ गीत हिट छन् । आफ्ना प्राय गीत रुचाएपछि कार्यक्रममा कुन गीत प्रस्तुत गर्ने भन्नेमै बेला बेला दोधारमा पर्ने उनले सुनाइन् । सहिमाले भनिन्, ‘पहिले पो धेरै गीत थिएन । अहिले त मेरो थुप्रै गीत छन्, जसलाई श्रोताले पनि रुचाएका छन् । त्यसैले कुन गाउने भन्ने बेलाबेला अलमल हुने गरेकी छु ।’
यस्तै, सन् २०१७ मा पनि सहिमा निकै व्यस्त हुने भएकी छन् । आफ्नो सांगीतिक कार्यक्रमको तालिका प्रस्तुत गर्दै सहिमाले भनिन्, ‘अहिले पनि मलाई अष्टे«लिया, जापानलगायत युरोपबाट सांगीतिक कार्यक्रमका लागि प्रस्तावहरु आइरहेको छन् । त्यस्तै मेरो आफ्नो एल्बम पनि सार्वजनिक गर्नुछ । त्यसैले यो वर्ष पनि व्यस्त नै हुन्छु जस्तो लागेको छ ।’     प्रस्तुत छ तल सहिमाको आगामी एल्बम ‘स्वर्ग’ को ‘ओई दाजु’ बोल गीतको भिडियो ।

Comments