काठमाडौं, ६ पुस–विश्का कलाकारलाई हरेक दुई वर्षमा बंगलादेशको ढाकामा जमघट गराउँदै बंगलादेश शिल्पकला एकेडेमीले बाइनाले विगत ३४ वर्षदेखि गर्दै आइरहेको छ । यसपटक ढाकामा भएको १७ औं बाइनालेमा नेपालका चारजना कलाकारका कलाकृति छनोट परेका छन् ।
विश्वका ५४ देशका कलाकार सहभागी रहेको सो प्रदर्शनीमा नेपालबाट रविन्द्र श्रेष्ठ, जुपिटर प्रधान, कर्मा छेटु गुरुङ र लक्ष्मण श्रेष्ठ छनौटमा परेका हुन् । बंगलादेश शिल्पकला एकेडेमीको आयोजनामा हुने सो प्रदर्शनीमार्फत बंगलादेशले आफ्नो सांस्कृतिक चेतनालाई विश्वमा चिनाउन सकेको छ ।
सो प्रदर्शनीमा बंगलादेशका २२० र अन्य देशका १४३ कलाकारका कलाकृति राखिएको छ । हरेक दुई वर्षमा हुने सो बाइनाले सन् १९८२ बाट सुरु भएको हो । कलाका क्षेत्रमा बंगलादेशले निकै फट्को मारेको उदाहरणका रुपमा यो बाइनालेलाई लिन सकिन्छ ।
डिसेम्बर १ बाट सुरु भएको सो बाइनालेमा सहभागी नेपाली कलाकार कर्मा छेटु गुरुङले आफ्नो काममा गर्व गर्ने श्रमजीवि वर्गलाई मुख्य विषय बनाएको कलाकृति राखेका छन् । उनले भने, ‘इमान्दारिताका साथ मिहिनेत गरेर काम ग¥यो भने नेपाली कलाले विश्वमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सक्छ ।’
दुई वर्ष अगाडिसम्म सो बाइनालेमा नेपालका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) बाट कलाकारको छनौट भइ सो प्रदर्शनीमा सहभागिता जनाउँदै आएता पनि यसपटक ग्लोबल आव्हान गरी व्यक्तिगत रुपमा कलाकारलाई सो प्रदर्शनीमा सहभागिताका लागि आयोजकले आवेदन मागेको थियो । प्रतिष्ठानबाट राम्राभन्दा पनि आफ्ना मान्छेलाई सहभागिता जनाउँदा गुणस्तरीय कलाकृति पठाउन नसकेको भन्दै व्यक्तिगत रुपमै नेपाली कलाकृति मागेको र आफुले ओपन रुपमै आवेदन दिएर सेलेक्सनमा परेको सो प्रदर्शनीमा सहभागी एक कलाकारले बताए ।
मानवीय संवेदनालाई कलात्मक रुपमा जोड्दै मानव जातिको हितमा सबै लाग्नुपर्दछ भन्ने भावका कलाकृति बनाएका कलाकार रविन्द्र श्रेष्ठले भने, ‘नेपालीको कलाबाट प्रभावित भएर प्रदर्शनीमा सहभागी भएका अन्य देशका कलाकार तथा कला पारखीबाट अफर आएको छ । यस्ता विश्वस्तरीय कला प्रदर्शनीले नेपाली कला र कलाकारका लागि स्पेस क्रिएट हुँदै गइरहेको छ । यो हाम्रा लागि गौरव गर्न लायक विषय हो ।’
प्रदर्शनीमा सहभागी अर्का कलाका जुपिटर प्रधानले ‘होम अवए होम’ शीर्षकमा प्रतिस्थापन कला प्रस्तुत गरेका छन् । त्यस्तै लक्ष्मण श्रेष्ठले भूकम्पको तरङ्गलाई अमूर्त चित्रमार्फत प्रस्तुत गरेको कलाकृति प्रदर्शनीमा राखेका छन् । प्रदर्शनी ३१ डिसेम्बरसम्म रहनेछ ।