चर्चाको चर्चा : पहिलोपटक गजल गाएँ, सबैले रुचाए : रुपकुमार राई
screennepal
प्रकाशित: २०७३, २७ मंसिर सोमबार
no img

rup-kumar-rai

‘चर्चा’ बोलको गजल यतिखेर नेपाली सांगीतिक क्षेत्रमा चर्चामा छ । यस गीतका गायक हुन् रुपकुमार राई । केही साताअघि मात्र सार्वजनिक गरिएको गायक राईको ‘रुप’ एल्बममा समावेश ‘चर्चा’ गजललाई डा. कृष्णहरी बरालले लेखेको हुन् भने संगीत शान्तिराम राईले । ‘रुप’ गायक राईको छैठौ एल्बम हो । तर, गजल भने यो उनको पहिलो हो । तर, गायक राईको ‘चर्चा’ गजललाई श्रोता एवं दर्शकले रुचाएका छन् । यससँगै राईको ‘रुप’ले पनि चर्चा पाइरहेको छ । ‘रुप’ को चर्चासँगै यतिखेर चर्चामा रहेका गायक राईसँग उनको सांगीतिक क्षेत्र र ‘रुप’बारे गरिएको कुराकानी । थाहा पाउनुस् उनी के भन्दारै’छन् आफ्नो सांगीतिक यात्राबारे ।
‘चर्चा’ बोलको गजलले रामै्र चर्चा पाइरहेको छ हैन त ?
– हो, चर्चा गजल मैले सोचेभन्दा पनि राम्रो बन्यो । यु–ट्युबमा अपलोड गरेको दुई सातामै ८० हजारभन्दा बढी दर्शकले हेरिसके । यो गजल मेरो ‘रुप’ एल्बममा समावेश छ ।
‘रुप’ कस्तो एल्बम हो, कस्ता कस्ता गीत छन् ?
– ‘रुप’ मा आधुनिक तथा गजल एल्बम हो, जसमा चार वटा गीत तथा गजल छन् ।
यसअघि पनि गजल गाउनुहुन्थ्यो कि ?
– थिएन, मैले पहिलोपटक गजल गाएको हुँ । तर, मलाई अहिले त्यही गजलले चर्चामा ल्याएको छ । जेहोस्, मेरो गजल गायन श्रोताले रुचाएका छन् ।
छैठौ एल्बममा आएर गजल गाउने सोच कसरी आयो ?
– सधैं एउटा किसमका गीत किन गाउने भन्ने लागेर यसपटक गजल गाएको हुँ । यो गजल गर्नुभन्दा अगाडि संगीतकार शान्तिराम राईसँग फरक किसिमको गीत बनाउनका लागि लामो समयदेखि सल्लाह हुँदै आएको थियो । उहाँले नै यो गजल तयार पार्नुभएको हो । यो मेरो पहिलो गजल गायन हो । तर, सबैले रुचाएका छन् ।
यसअघिका तपाइँका एल्बमहरु कतिको सफल भएका थिए नि ?
– यसअघि मैले पाँच एल्बम ल्याएको थिएँ । तिमध्ये ‘रामसाइँली’ र ‘साँक्षी’ सफल भएको थियो । यी एल्बमका गीत श्रोता तथा दर्शकले रुचाएका थिए ।
हिजोआज एल्बम निकालेर कामै छैन भन्छन्, फेरि तपाइँ किन निरन्तर एल्बम निकाल्नुहुन्छ ?
– हो, एल्बम अर्थात् सिडी बिक्री हुँदैन । त्यसैले धेरैले सिंगल ट्रयाकमा गाउन गरेका छन् । तर, कृति संग्रहका लागि एल्बम निकाल्नु आवश्यक छ । म प्रत्येक दुई वर्षमा एल्बम ल्याउने गरेको छु ।
सिडी नै बिक्री नभएपछि एल्बमको लगानी कसरी उठाउँने नि ?
– लगानी उठाउँछु भनेर एल्बम निकाल्ने होइन । कृति संग्रहका लागि मात्र हो । एउटा कलाकारका लागि कृति नै ठूलो कुरा हो । लगानी भनेको त एल्बमका गीत हिट भयो भने यु–ट्युब र स्टेज कार्यक्रमबाट उठाउँने हो । नत्र चान्स छैन ।
करिब दुई दशकको सांगीतिक यात्रा पार गर्दै हुनुहुन्छ । यहाँसम्म आइपुग्दा संगीतकर्म कस्तो लागिरहेको छ ?
– जेहोस्, मलाई रमाइलो नै भइरहेको छ । म आफ्नो कर्मबाट सन्तुष्टि नै छु । तर, जब मैले हालै छैठौ एल्बम ‘रुप’ ल्याएँ । त्यसपछि म मा थप जिम्मेवारी बोध भएको महशुस भइरहेको छ । अझ मैले संगीतप्रेमी श्रोता तथा दर्शकका लागि राम्रो राम्रो गीतसंगीत पस्कनुपर्छ भन्ने लागेको छ ।
गीतसंगीत क्षेत्रमा कलाकारबीच अस्वस्थ्य प्रतिस्पर्धा छ नि । तपाइँ के भन्नुहुन्छ ?
– हो, यस्तै अस्वस्थ्य प्रतिस्पर्धाले गर्दा नेपाली गीतसंगीतको गुणास्तर खस्किँदै गएको हो । यहाँ हिजोआज प्रतिभा र कलाले भन्दा पैसाले चर्चामा आउने होड चलेको छ । यो वास्तवमै कला क्षेत्रका लागि नकरात्मक पक्ष हो ।
एल्बमको प्रमोसनबाहेक अरु के गर्दैहुनुहुन्छ ?
– कलेक्शन एल्बम र कार्यक्रमहरुमा व्यस्त छु । विशेषगरी त ‘रुप’ कै प्रमोसनमा लागिरहेको छु ।

Comments