काठमाडौं, ७ मंसिर । नेपालमा ललितकला शिक्षाको केन्द्रका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभागमा अहिले तालाबन्दी गरिएको छ । स्नातकोत्तर तहको पहिलो र दोस्रो वर्षमा अध्ययनरत् विद्यार्थीले विभिन्न माग राख्दै आन्दोलन गरेका हुन् । उनीहरुलेत्रिविललितकला केन्द्रीय विभागमा केही महिनादेखि विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् ।
तालाबन्दीदेखि सडकमा कला कार्यशाला, कला प्रदर्शनी तथा कलाका विभिन्न गतिविधि गर्दै विरोधका कार्यक्रम गरिरहेका छन् । उनीहरुले अत्याधिक शुल्कबृद्धि, परीक्षाको म्याद नाघेको महिनौ भैइसक्दा पनि परीक्षा बारम्बार स्थगन हुनु, ललितकला केन्द्रीय विभागप्रति विभागीय प्रमुखको उदासिनता र गैरजिम्मेवारपूर्ण व्यवहारले नेपाली ललितकला क्षेत्रको विकासमा अवरोध भएको माग राख्दै विभागमा तालाबन्दी गरेको आन्दोलनरत् विद्यार्थी हरिओम मेहत्ताले बताए ।
ललितकला विभागका साथै त्रिविले विद्यार्थीको भविष्यप्रति खेलवाड गरेको जनाउँदै आन्दोलन गर्नुपरेको मेहत्ताले जनाए । साथै आन्दोलनरत् विद्यार्थीलेत्रिविले ललितकला शिक्षाप्रति अन्यायपुर्ण व्यवहार गरेका कारण नेपालको शिक्षा प्रणालीभित्र ललितकला शिक्षाको विकास हुन नसकेको जनाएका छन् ।
उनीहरुले चारदिने कार्यक्रम सार्वजनिक गर्दै सिर्जनात्मक ढंगले ललितकला केन्द्रीय विभाग अगाडि विरोधका कार्यक्रम गरेका छन् । ५ मंसिरमा प्रयोगात्मक परीक्षाका लागि तयार पारिएका चित्र तथा मूर्ति प्रदर्शन तथा सडकलेखन, ६ गते चित्र प्रदर्शन, सडकलेखन तथा धर्ना, ७ गते चित्र प्रदर्शन तथा भावभङगी नाटिका प्रस्तुत र अन्तिम दिन डीन कार्यालयमा धर्ना तथा १ घण्टा चक्काजाम गरेका छन् ।
तस्वीर : हरिओम मेहत्ताको फेसबुकबाट