चितवन, २८ कातिक । साहित्यकार तथा राजनीतिककर्मी रणेन्द्र बराइलीलाई ‘मदनमोहन जोशी स्मृति पुरस्कार–२०७३’ बाट सम्मान तथा पुरस्कृत गरिएको छ ।
साहित्य संगम चितवनद्धारा शनिबार सप्तगण्डकी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि विद्याज्योति जोशीले बराइलीलाई सम्मान गरेकी हुन् । नेपाली साहित्यमा बराइलीले विशेष योगदान पु¥याएबापत् पुरस्कृत गर्न पाउँदा खुशी लागेको जोशीले बताइन् । उनले थपिन्, ‘समाजमा साहित्य र समाज सेवाका माध्यमबाट सेवा पु¥याउने व्यक्तित्वलाई सम्मान गर्नु हामी सबैको दायित्व हो ।’
दलित साहित्य तथा नेपाली संस्कृतिका क्षेत्रमा कलम चलाउँदै आएका बराइलीका संस्कृतिसम्बन्धी पुस्तक समेत प्रकाशित छन् । समाज रुपान्तरणमा साहित्यको भूमिका अहम् हुने भएकाले जनपक्षीय र समाजको हित हुने कला साहित्यले मात्र मानव जातिको कल्याण हुन सक्ने बराइलीले बताए । उनले भने, ‘साहित्यले समाजका विविध पक्षको अन्वेषण गर्न सक्नुपर्छ साथै मानव जातिको हितका निम्ति काम गर्नुपर्छ ।’
सो कार्यक्रममा सम्मानित तथा पुरस्कृत व्यक्तित्वका बारेमा रामहरि श्रेष्ठले चर्चा गरे । त्यस्तै निबन्धकार पुर्णबहादुर अधिकारीको ‘स्मृति जंगल’ निबन्ध संग्रहको विमोचन समेत गरिएको थियो ।