काठमाडौं, २३ भदौं । कोरियन ब्युटी कस्मेटिक प्रोडक्ट कम्पनी हाइलिभिङले आफ्नो उत्पादन तेजब्ल्यांकलाई नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । ब्युटिसियनलाई लक्षित गर्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन र हाईलिभिङ नेपालले राजधानीमा आयोजनाको एकदिने प्रशिक्षण कार्यक्रममा कम्पनीका प्रमुख सिओक बिओम किम, नेपाल विक्रेता हाइ लिभिङ नेपालका प्रमुख डेभिड राई, जिफन्टका महासचिव विष्णु लम्साललगायतले सार्वजनिक गरे ।
कम्पनीका प्रमुख किमका अनुसार कम्पनीले कोरियामा नेटवर्क मार्केटिङबाट उत्पादन विक्री गरिरहे पनि नेपालमा चाहिँ संस्थागत रूपमा उत्पादनलाई बजार पु¥याउन लागिएको हो । ‘हामी नेपालमार्फत चीन र भारतमा पनि आफ्नो उत्पादनलाई विस्तार गर्न चाहन्छौं,’ उनले भने,‘दुई ठूला देशमा उत्पादनको बजार प्रबद्र्धन गर्न नेपाल एउटा राम्रो माध्यम बन्न सक्छ ।’
कम्पनीले समुन्द्रका भित्री सतहमा रहेका अक्टोपस, घुँगी र लेउलाई जम्मा पारी बनाइएको छाला चम्किलो बनाउने पदार्थबाट कस्मेटिक प्रोडक्ट तयार परेको छ ।
अधिकांश कस्मेटिकहरू छालालाई सफा गर्ने, छालाको पुरानो मृत कोषलाई हटाएर नयाँपन दिने किसिमको रहेको कम्पनीले जनाएको छ । कस्मेटिकहरू दैनिक प्रयोग गर्नेदेखि लिएर हप्ता हप्तामा प्रयोग गर्नेसम्मका छन् ।
हाइ लिभिङ नेपालका प्रमुख राईले प्रारम्भिक चरणमा नेपालमा रहेका ब्युटिसियनमार्फत उत्पादनको बजारीकरण गर्ने जानकारी दिए । ‘हामी पहिलो चरणमा पोखरा र काठमाडौंमा यसको मार्केटिङ गर्नेछौं, अनि देशका पूर्व र पश्चिम क्षेत्रलाई लक्षित गर्नेछौं ।’ उनले भने ।
राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालको संस्थापक अध्यक्ष मिना गुरुङका अनुसार कम्पनीको उत्पादन पहिलो चरणमा ब्युटिसियनलाई लक्षित गरिनेछ ।