ललितपुर, १६ भदौं । सीमान्तकृत समुदायका विषयमा केन्द्रित पाँचजना कलाकारका कला प्रदर्शनी नेक्सस कल्चर सेन्टर बखुण्डोलमा चलिरहेको छ । ‘द–लिट एक्स्क्लुसन विथइन’ शीर्षकमा मनिष हरिजन, प्रमिला परियार, अरुणा हिङमाङ, इशान परियार र पुनम दासका १८ वटा कलाकृति प्रदर्शनीमा राखिएको छ ।
पाँच वर्ष अगाडि अमेरिकाको वासिंटन डिसीमा सडक दूघर्टनामा निधन भएका सामाजिक अभियन्ता सुभाष दर्नालको नाममा दर्नाल अर्वाड फर सोसियल जस्टिस स्थापना गरिएको छ । पाँच लाख राशीको यो अन्तर्राष्ट्रियस्तरको यो पुरस्कार हरेक वर्ष प्रदान गर्ने गरी यो वर्ष स्थापना गरिएको हो । हरेक वर्ष अगष्ट १५ मा सामाजिक कार्यमा योगदान दिने व्यक्तित्वलाई प्रदान गर्ने गरी स्थापित यो पुरस्कार प्रदान गर्ने सन्दर्भ पारेर पाँचजना नेपाली कलाकारका कला प्रदर्शनीको आयोजना गरिएको नेक्सस कल्चर÷लसनाका सञ्चालक अस्मिना रञ्जितले बताइन् । यो वर्ष दलित शिक्षामा विशेष योगदान दिएबापत् रक्षाराम चमारलाई दर्नाल अर्वाड प्रदान गरिएको छ ।
नेक्सस÷लसनाको संयूक्त आयोजनामा गरिएको यो प्रदर्शनीमा नेपालका सीमान्तकृत तथा दलित समुदायको विषयलाई उठाउन खोजिएको रञ्जितले बताउँदै थपिन्, ‘नेपालको कन्टेन्टमा सीमान्तकृत समुदायका कलाकारलाई समेटेर उनीहरुको आवाजलाई उनीहरुकै सिर्जनामार्फत व्यक्त गरिएकाले यो प्रदर्शनीले नेपालमा विशेष महत्व राखेको छ ।’
समाजमा विद्यमान विकृति विसंगतिलाई कलात्मक रुपमा संयोजन गर्दै मनिष हरिजनले मानिस मानिसबीचको विभेदलाई प्रतिस्थापन कलामार्फत प्रस्तुत गरेका छन् । उनले सत्बीजको कन्सेप्टमा खप्परलाई बिम्बात्मक रुपमा प्रस्तुत गर्दै त्यसका सकारात्मक र नकारात्मक विषयलाई उठान गरेका छन् । उनले भने, ‘यो प्रदर्शनीमा राज्यबाट उपेक्षामा पारिएका समुदायको विषयलाई उठाउने उद्देश्यसहित कलाकृति रचना गरिएको हो ।’ प्रदर्शनीमा प्रमिला परियारले दलित महिलाको विषयलाई उठाएकी छन् । त्यस्तै अरुणा हिङमाङले महिलाको विषय उठाएकी छन् । इशान परियारले समाजमा घट्ने तितो सत्य घटनालाई करेलाको बिम्बमार्फत व्यक्त गरेका छन् । मिथिला कलाकार पुनम दासले मिथिलाका महिलाको दिनाचर्या र सामाजिक अवस्थालाई मिथिला शैलीमा उतारेकी छन् । अगस्ट १४ बाट सुरु भएको यो प्रदर्शनी १५ सेप्टेम्बरसम्म रहने आयोजकले बताए । तस्वीर सौजन्यः वसन्त रञ्जितकार