प्रज्ञाले सम्झियो मोतीरामलाई
screennepal
प्रकाशित: २०७३, १७ भाद्र शुक्रबार
no img

काठमाडौं, १६ भदौं । राष्ट्रिय विभूति मोतीराम भट्टको १५१औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना तथा अनाम मण्डलीको संयोजनमा गजल विमर्शका साथै बृहत् गजल पाठ कार्यक्रम गरी मोतीराम जयन्ती मनाइयो ।
प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले उक्त अवसरमा बोल्दै नेपालमा गजल लेखन परम्पराको थालनी मोतीरामले गरेको उल्लेख गर्दै भने, ‘मोतीरामले गजल मात्रै नभएर साहित्यका अन्य विधामा पनि उत्तिकै योगदान गरेका छन् । त्यसैले नेपाली साहित्यको सर्वाङ्गीण समृद्धिमा मोतीरामको महत्त्वपूर्ण भूमिका रहेको छ ।’

m
प्राज्ञ श्रवण मुकारुङले नेपालमा गजल परम्पराको थालनी गर्ने मोतीराम भट्ट कुशल समालोचक समेत भएको दावी गरे । उनले भने, ‘सिर्जनाको सीमालाई उमेरले छेक्दैन भन्ने उदाहरण हुन् मोतीराम ।’
उक्त अवसरमा समालोचक डा. नेत्र एटमले ‘समकालीन नेपाली गजलका प्रवृत्तिहरु’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमाथि डा. कृष्णहरि बरालले टिप्पणी गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले अनाम मण्डलीद्वारा स्थापित मोतीराम–सेतुराम गजल पुरस्कार सङ्गीतकार दीपक जङ्गम र गजलकार वासुदेव पाण्डे प्रभाकरलाई समर्पण गरे । सम्मानमा दोसल्ला, ताम्रपत्र र नगद रहेको थियो । कार्यक्रमको उद्देश्य तथा अनाम मण्डलीको गतिविधिबारे संस्थाका पूर्व अध्यक्ष बलराम दाहालले प्रकाश पारेका थिए ।
मोतीराममा समर्पित कार्यक्रममा डा. विजय सुब्बा, करुण थापा, गोपाल अश्क, धीरेन्द्र प्रेमर्षि, रामबहादुर पहाडी, रवि प्राञ्जल, देवी नेपाल, बाबु त्रिपाठी, बलराम तिमिल्सिना, प्रभाती किरण, शीतल कादम्बिनी, सङ्गीता थापा, ज्ञानु विद्रोही, रुपक वनवासी, रुपक अलङ्कार, जय गौडेल, सुरेश सुवेदी, सुवास राई ‘क्याप्टेन’, तपेन्द्र घोडासैनी, पुरु लम्साल लगायतका तीन दर्जन गजलकारहरुले गजल पाठ गरेका थिए ।

Comments