नयाँदिल्लीमा नेपाल–भारतका मिथिला कला प्रदर्शनी
screennepal
प्रकाशित: २०७३, १५ भाद्र बुधबार
no img

काठमाडौं, १५ भदौं । ओजास आर्ट ग्यालरी नयाँदिल्लीमा नेपाल तथा भारतका मिथिला तथा मधुवनी कला प्रदर्शनी भइरहेको छ । ‘सत्रंगी’ शीर्षकमा गरिएको सो प्रदर्शनीमा नेपालबाट नेपाल ललितकला प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एससी सुमन सहभागी भएका छन् । नेपालमा मिथिला कलामा नयाँ सोच र चिन्तनमा काम गर्दै आएका सुमनले नेपाली मिथिलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन प्रदर्शनीमा भाग लिएको बताए ।

suman sc
उनले भने, ‘मिथिला कला अहिले विश्वमै परिचित छ । यसलाई हामीले अझ प्रभावकारी र नयाँ सोचका साथ अगाडि बढाउने उद्देश्यका साथ काम गर्नुपर्ने देखिएको छ । यही परिवेशमा नेपाल र भारतका कलाकारले मिथिला र मधुवनी कला प्रदर्शनी गरेका हौं । यसमा नेपालबाट मैले प्रतिनिधित्व गरेको छु । यो प्रदर्शनी मिथिला कलाका लागि निकै महत्वपूर्ण रहने विश्वास समेत लिएको छु ।’
नेपाल र भारतका १४ जना कलाकारका ४० वटा चित्र प्रदर्शनीमा राखिएको सुमनले बताए । आजको सन्दर्भमा मिथिला कलाको लोकप्रियतालाई बाहिर ल्याउनका लागि प्रदर्शनीले प्रभावकारी भूमिका निार्वह गर्न सक्ने आशाका साथ दिल्लीमा प्रदर्शनी गरिएको सुमनले बताए ।
२४ अगस्टबाट सुरु भएको सो प्रदर्शनीमा नेपालबाट एस सी सुमन सहभागी भएका छन् भने भारतबाट सन्तोष कु. दास, महालक्ष्मी एण्ड सान्तनु दास, अमृता दास, दुलारी देवी, शालिनी कर्ण, कमलेश राय, नम्रतादेवी, रचना शालिनी, बबिता कर्ण, अल्पना शालिनी, अभिनाश कर्ण लगायतका कलाकार रहेका छन् । प्रदर्शनी ८ सेप्टेम्बरसम्म रहने सुमनले बताए ।
तस्वीर सौजन्यः प्रणव प्रसुन्न

Comments