चित्रमा बागमतीको मुहानदेखि चोभारसम्म ! (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, १५ भाद्र बुधबार
no img

haari nepali

काठमाडौं, १५ भदौं । कलाकार हरि नेपालीको ‘सुन्दर वागमती मेरो जलरङ चित्रमा’ शीर्षकमा  एकल कला प्रदर्शनी जे आर्ट ग्यालरी ठमेलमा चलिरहेको छ । वागमतीको मुहान बागद्धारदेखि चोभारसम्मका विभिन्न स्थानमा गई तयार पारिएका दृश्यचित्रलाई नेपाली प्रदर्शनीमा राखेका हुन् । सफा वागमती बनाउने अभिप्रायका साथ नेपालीले कला प्रदर्शनी गरेका हुन् ।

वागमती नदीको महत्व नेपालमा प्राचीनकालदेखि नै रहेको बताउँदै उनले यसको धार्मिक, सांस्कृतिक, प्राकृतिक सुन्दरता तथा पर्यावरणमा मानवीय कारणले नष्ट हुँदै गइरहेको अवस्थालाई चित्रण गरेको जनाए ।

h nepali2

वागमती किनारमा रहेका विभिन्न स्थललाई उनले कलात्मक रुपमा जलरङका माध्यमबाट चित्रण गर्दै मानिसमा जागरण आउनुपर्ने विषयलाई उठाएका छन् । प्रदर्शनीमा राखिएका ६० वटा चित्रमा नेपालीले वागमतीको अवस्थालाई कलात्मक रुपमा उतारेका छन् । १८ महिना लगाएर नेपाली ती चित्र तयार पारेको बताए । वागमती किनारका विभिन्न स्थलमा बसेर चित्र तयार पार्दा यो नदीमा मानिसले गरेका अशोभनीय कार्यले निकै मर्माहत बनाएको बताउँदै उनले भने, ‘वागमती नदी आफैमा जीवित इतिहास, धार्मिक सांस्कृतिक तथा पवित्र आस्था र सम्मान बोकेको प्राकृतिक स्रोत हो । जुन नेपाल भारत हुँदै महासागरमा गएर मिसिन्छ ।

h nepali1

यस्तो सुन्दर र प्राकृतिक महत्व बोकेको नदीलाई मानिसले फोहोर पारेर असुन्दर बनाउने काम गरेका छन् । मैले चित्रमार्फत यो नदीको प्राकृतिक स्वरुपलाई जस्ताको तस्तै बनाउने अपिलसहित प्रदर्शनी गरेको हुँ ।’

h nepali
चित्रकलामा ललितकला क्याम्पसबाट स्नातक हरि नेपालीले विभिन्न कला शिक्षण संस्थामा अध्यापनको कार्य समेत गर्दै आएका छन् । उनले यसभन्दा अघि भूकम्पबाट विक्षिप्त संरचनालाई चित्रमा उतारेर प्रदर्शनी गरेका थिए । अहिले वागमतीको सुन्दरतालाई उनले जलरङमार्फत उतारेर यसलाई मानवीय कारणले कुरुप बनाउन नहुने सन्देश दिएका छन् । भदौ ९ बाट सुरु भएको यो प्रदर्शनी १६ गतेसम्म रहने आयोजक प्रकाश श्रेष्ठले बताए ।

Comments