बीपीको साहित्यबारे विमर्श
screennepal
प्रकाशित: २०७३, १५ भाद्र बुधबार
no img

काठमाडौं, १५ भदौं । प्रजातान्त्रिक समाजवादका प्रणेता तथा प्रसिद्ध साहित्यकार बीपी कोइरालाको साहित्यिक पक्षमाथि राजधानीमा विमर्श गरिएको छ ।
जननायक कोइरालाको १०२औँ जन्मजयन्तीको सन्दर्भ पारेर नेपाल प्रज्ञा–प्रतिष्ठान समालोचना तथा निबन्ध विभाग एवम् बीपी कोइराला स्मृति ट्रष्टद्वारा संयुक्त रुपमा मङ्गलबार आयोजित ‘बीपी कोइरालाका साहित्यबारे युवा स्रष्टा राजनीतिकर्मीहरुको बुझाइ’ विषयक उक्त गोष्ठीमा बोल्दै साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालले ‘बीपी महान् चिन्तक, सफल साहित्यकार तर असफल राजनीतिज्ञ’ भएको जिकिर गर्नुभयो । उहाँले थप्नुभयो, ‘बीपी जसरी साहित्यमा खुल्नुभएको छ, त्यति राजनीतिमा खुलेको पाइँदैन । जसले गर्दा नेपाली राजनीति धेरै पछाडि धकेलिएको छ । आजको पुस्ताले बीपीलाई पुनः जीवित गराउनु जरुरी देखिन्छ ।’

DSC_7819
अर्का राजनीतिज्ञ तथा साहित्यकार बलदेव शर्मा मजगैँयाले युवा राजनीतिकर्मीहरुमा पनि बीपीका साहित्य अध्ययन गर्ने बानी रहेको देख्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै भन्नुभयो, ‘नेताहरुले  आफ्नो विचार लाद्नुअघि धेरै पटक बीपी सोच्नु पर्छ ।’ उहाँले बीपीका साहित्यहरु मार्गदर्शक र उत्पे्ररक रहेको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बीपी कोइराला विशेष क्षमता र प्रतिभा भएका राजनेता भएको चर्चा गर्नुहुँदै उहाँको साहित्यिक र राजनीतिक पृष्ठभूमि एउटै भएको दावी गर्नुभयो ।
उपकुलपति डा. विष्णुविभु घिमिरेले बीपीलाई सिद्धान्तको बोक्रा छोडाएर मात्रै बुझ्न नसकिने विचार व्यक्त गर्दै भन्नुभयो, ‘फराकिलो विचारबाट मात्रै बीपीलाई प्रस्ट ठम्याउन सकिन्छ ।’
प्रज्ञा–प्रतिष्ठान समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा.डा. ज्ञानू पाण्डेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भन्नुभयो, ‘साहित्य र राजनीतिको अन्तरसम्बन्धबारे केलाउनु नै यो कार्यक्रमको उद्देश्य हो ।’ उहाँले थप्नुभयो, ‘राजनीति एउटा शक्ति भएजस्तै साहित्य पनि अर्को विशिष्ट शक्ति हो । दुवै शक्तिको संमिश्रणबाट मात्रै प्रभावशाली शक्ति संभव छ, जसले समाजलाई परिवर्तन गर्ने ताकत राख्छ ।’
कार्यक्रममा बीपीपुत्र एवम् ट्रष्टका कार्यवाहक अध्यक्ष श्रीहर्ष कोइराला, सदस्य पुरुषोत्तम बस्नेतले पनि बीपी साहित्यिक पाटोमाथि यथेष्ट प्रकाश पार्नुभएको थियो ।
यसै गरी युवा राजनीतिकर्मी तथा स्रष्टाहरु गुरुराज घिमिरे, लेखनाथ न्यौपाने, गरिमा शाह, धर्मेन्द्रविक्रम नेम्बाङ र धर्मेन्द्र झाले बीपीको साहित्यिक व्यक्तित्वका बारेमा विस्तृत रुपमा प्रकाश पार्नुभएको थियो । उहाँहरुले बीपी राजनीतिमा जसरी साहित्यमा पनि अत्यन्त प्रभावशाली प्रतिभा भएको उल्लेख गर्नुभएको थियो । कवियत्री सन्ध्या पहाडीले सहजीकरण गर्नुभएको कार्यक्रममा मजगैँयाद्वारा लिखित उपन्यास ‘बौन्स्री’को युवा राजनीतिकर्मीहरुले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो भने विमोचित कृतिमाथि डा. नारायण चालिसेले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

Comments