‘अम्लारी फुङ’को ह्याट्रिक, निशा र आशिष उत्कृष्ट (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, १ भाद्र बुधबार
no img
FLF,screennepal (4)

Photo By Sukmaya Rai

काठमाडौं, १ भदौ । ‘लिम्बू फिल्मस् अर्वाड–२०७३’ ‘एफएलएफ’मा चलचित्र ‘अम्लारी फुङ’ले उत्कृष्ट चलचित्र र निर्देशकसहित चार अवार्ड पाएर ह्याट्रिक गरेको छ । यस चलचित्रमार्फत किसोर सुब्बाले उत्कृष्ट निर्देशक र स्क्रिप्ट राइटरको अवार्ड पाए भने यसै चलचित्रले छायांकारको अवार्ड पनि आफ्नो पोल्टामा पारेको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्द्वारा पहिलोपटक आयोजित यस कार्यक्रममा म्युजिक भिडियोतर्फ मोडल तथा अभिनेत्री निशा पोमुले शीर्ष अवार्ड हात पारिन् भने मोडलतर्फ आशिष लिङ्देन उत्कृष्ट भए ।
सुचना तथा सञ्चारमन्त्री राम कार्कीको प्रमुख आथित्यमा मंगलबार राजधानीमा सम्पन्न कार्यक्रममा कलाकार तथा लिम्बू भाषाविद् यासेली योङ्हाङलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिएको छ ।

FLF,screennepal (3)
विभिन्न लिम्बू कला तथा संस्कृति झल्काउँने सांस्कृतिक कार्यक्रमबीच आयोजित कार्यक्रममा पहिलो लिम्बू भाषा चलचित्र ‘तरेबा’ का निर्देशक नविन सुब्बा र पहिलो लिम्बू भाषाका गायक कुल्बा सुब्बालाई सम्मान गरिएको छ ।

shova

त्यस्तै, कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा ‘स्व. कमला कन्दवा सम्मान’द्वारा नवगायिका सुनिता थेगिम र ‘स्व. नरप्रसाद लिङ्देन सम्मान’बाट निर्देशक लोकेन साँवालाई सम्मान गरिएको छ ।

FLF,screennepal (2)
सोचेभन्दा एकदमै कम सहभागी लिम्बू भाषाका म्युजिक भिडियो तथा फिल्मबीच भएको प्रतिस्पर्धामा शोभा खजुमलाई ‘फिल्मी नायिका’तर्फ अवार्ड प्रदान गरिएको छ । शोभा पहिलो लिम्बू भाषा चलचित्रकी नायिका हुन् । अर्की नायिका तथा मोडल बबिता फोम्बोलाई जुरी अवार्ड प्रदान गरिएको छ ।

FLF,screennepal (1)
त्यस्तै, कार्यक्रममा ‘ए हे हाहा’ गीतबाट धनवीर साँवाले ‘उत्कृष्ट संगीतकार’ को अवार्ड हात पारे भने गायन महिलातर्फ मनु नेम्बाङ उत्कृष्ट घोषित भइन् । मनुले ‘तुम्याङ’ बोलको गीतमार्फत अवार्ड पाएकी हुन् । गीतकारको अवार्ड भने सर्वण नेम्बाङले पाए । उनले ‘फेदाङ्मा’ गीतमार्फत अवार्ड पाएका हुन् । त्यस्तै, गायन परुषतर्फ सुसन साम्सोङले अवार्ड पाए भने रविन्द्र वरालले उत्कृष्ट छायाकारको अवार्ड आफ्नो पोल्टामा पारे । उत्कृष्ट म्युजिक भिडियोको अवार्ड हिलिहाङ हाक्पारे पालाम समूहको ‘आनी केरेङ…’ गीतलाई प्रदान गरिएको छ ।

FLF,screennepal
कार्यक्रममा अवार्डका संयोजक दिनेश लिङ्देनले पहिलोपटक आयोजना गरेको अवार्ड भएकाले सबैको मन बुझाउन गाह्रो भएको बताए । उनले भने, ‘सकेसम्म हामीले सबैलाई समेट्ने प्रयास गरेका छौं ।’ कार्यक्रममा निर्देशक सुचित्रा श्रेष्ठ, अभिनेत्री रुपा राना, गायक दीपक लिम्बू, रुकमान लिम्बू, भीम लिम्बूलगायत विभिन्न चलचित्रकर्मी तथा कलाकारको बाक्लो उपस्थिति थियो ।

Comments